चितवन । भरतपुरस्थित रेडियो कालिका एफएमद्वारा दुई दर्जनभन्दा बढी विधामा म्युजिक अवार्ड वितरण गरिएको छ । एफएमको बाह्रौँ वार्षिकोत्सवको अवसरमा आइतबार साँझ भएको दसौँ म्युजिक अवार्ड कार्यक्रममा दुई दर्जनभन्दा बढी कलाकारलाई अवार्ड दिएर सम्मान गरिएको हो । यस वर्ष वरिष्ठ चलचित्रकर्मी यादव खरेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
एफएमका अध्यक्ष तथा संविधानसभाका सदस्य विक्रम पाण्डेले खरेललाई दोसल्ला ओढाएर लाइफटाइम एचिभमेन्ट अवार्ड वितरण गर्नुभयो ।
खरेलले १७ वटा गीति एल्बम निकाल्नुभएको छ भन्ने करिब दर्जन नेपाली चलचित्रमा निर्देशन गरिसक्नुभएको छ । उहाँ चलचित्र निर्माता सङ्घका संस्थापकसमेत हुनुहुन्छ । चलचित्रकर्मी खरेलले कला क्षेत्रको विकासका लागि अवार्डबाट हौसला प्रदान गर्ने बताउनुभयो ।
यस्तै सवारी दुर्घटनामा निधन भएकी गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा लोकदोहोरीमा तीर्थ सापकोटा, स्थानीय कलाकारमा भुवन प्यासी, लोकदोहोरी शब्दतर्फ शिरिष देवकोटा, सङ्गीतमा राम्जी खाँड, महिला गायनमा मञ्जु पौडेल र पुरुषमा पशुपति शर्माले अवार्ड पाउनुभयो ।
आधुनिकतर्फ सङ्गीतमा राजकुमार बगर, गायन महिलामा माण्डवी त्रिपाठी, पुरुषमा प्रमोद खरेल र गजलमा आनन्द कार्कीले अवार्ड हात पार्नुभयो ।
पपतर्फ गायिका सञ्जना श्रेष्ठ, गायकमा कमल खत्री र सङ्गीतमा लोकेश गुरुङले अवार्ड पाउनुभयो । चलचित्रको शब्दमा डा कृष्णहरि बराल, सङ्गीतमा वसन्त सापकोटा, गायिकामा मिलन अमात्य, गायकमा शिव परियार तथा युगल गीतमा रजिना रिमाल र युवराज चौलागार्इं लगायतले अवार्ड प्राप्त गर्नुभयो ।
एफएमका अध्यक्ष पाण्डेले अझै समाजसेवामा सक्रिय हुने प्रतिबद्धता जनाउँदै सामाजिक काममा कसैले कन्जुस गर्न नहुने बताउनुभयो ।













प्रतिक्रिया