२८ आश्विन २०८३, बुधबार

नेपालको इज्जत राख्ने विमलालाई कोरिया पठाउन कराँते गुरुको मोटरसाइकल धरौटीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimala-Tamang-Karante

काठमाडौं, २२ असोज । दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक दिलाउन सफल विमला तामाङले आफूलाई सरकार र राष्ट्रिय खेलकुद परिषदले कुनै सहयोग नगरेको गुनासो पोखेकी छिन् ।

रिपोर्टर्स क्लब नेपालमा दामन पाख्रिन स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा कार्यक्रममा उनले यो गुनासो पोखेकी हुन् । धादिङ् सेम्जुङ्–४ की १८ वर्षीया विमलाले कराँतेको एकल कातामा कास्य पदक जितेकी थिइन् । नेपालका लागि एकमात्र कास्य पदक दिलाउन सफल तामाङ्लाई प्रतिष्ठानले भने बुधबार ३५ हजार नगदसहितसम्मान गरेको छ ।

कार्यक्रममा तामाङ्लाई सभासदहरु दिलमान पाख्रिन, बहादुर सिंह तामाङ्, तीर्थ लामा र क्लबका अध्यक्ष ऋषि धमलाले संयुक्त रुपमा सम्मान गरेका थिए । सम्मानित भएपछि तामाङ्ले आफ्नो सफलताको सम्पूर्ण श्रेय भने गुरु ध्रुब विक्रम मल्ललाई दिएकी थिइन् । उनले भनिन्–‘‘म आज जुन ठाउँमा छु, यो सबै गुरुको कारण हो । उहाँले मलाई सँधै हौसला दिनुभयो । उहाँको सहयोग, प्रेरणा र हौसलाले नै मलाई आत्मविश्वासी बनायो ।’’

विमलाले आफूलाई राज्यले सहयोग गरिदिएको भए फाइनल सम्म नै पुग्ने समेत विश्वास व्यक्त गरेकी थिइन् । उनले थपिन्– ‘‘यो पटक म कास्य पदक लिएर घर फर्केको छु, अर्को पटक म अवश्य पनि स्वर्णपदक लिएर आउनेछु । त्यसको लागि म अहिले दैनिक अभ्यास गरिरहेको छु । सायद यसपटक पनि मलाई सरकारले सहयोग गरिदिएको भए म फाइनलमा पुग्थें होला । तर मलाई सरकार तथा राखेपले सहयोग गरेनन् ।’’

त्यस्तै बालाजु डोजाङ्का प्रशिक्षक ध्रुवविक्रम मल्लले राज्यले कुनै वास्ता नगरेपनि विमलाले राम्रो गर्न सक्छिन भन्ने उद्येश्यले नै आफूले उनलाई कोरिया पठाएको बताउँदै आगामी दिनमा अझ मेहनतका साथ तयारी गर्ने बताएका छन् । मल्लले राज्यको ढुकुटीबाट खेल्न गएका खेलाडीलेभन्दा दुःखका साथ खेल्न गएकी खेलाडीले देशको लागि पदक जित्न सफल भएकोले आफूलाई निकै खुशी लागेको समेत बताए ।

विमलालाई कोरिया पठाउने वेला आफूसँग नगद नभएका कारण आफ्नो मोटरसाइकल धरौटी राखी पठाएको उल्लेख गर्दै मल्लले भने–‘‘ विमलाको सफलताले खुशी नै दिलाएको छ । एउटा गुरुको लागि यो भन्दा ठूलो खुशी नै अरु के नै हुन्छ र ? मलाई विश्वास थियो विमलाले राम्रो गर्न सक्थिन भनेर ।’’