२८ आश्विन २०८३, बुधबार

सुन्दरी प्रतियोगिता बनाम होडबाजी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ruby-rana

एक्काइसौं शताब्दीको संघारसम्म आइपुग्दा थुप्रै सौन्दर्य प्रतियोगिताहरू सम्पन्न भइसकेका छन् । अब महिनैपिच्छे, हप्तैपिच्छे सुन्दरी प्रतियोगिताहरूको होडबाजी छाएको छ । तर जति पटक पनि सौन्दर्य प्रतियोगिताहरूको विषय उठाइन्छ, समाजमा नाक खुम्च्याउने भलाद्मीहरू प्रकट भइहाल्छन् । वास्तवमा सौन्दर्य प्रतियोगितालाई राष्ट्रिय प्रतियोगिताको दर्जा दिई यसभित्रको सत्यतालाई स्वीकार्नु पर्छ । यस्ता प्रतियोगितालाई किन संकुचित दृष्टिले हेरिन्छ ? यसको इतिहास के हो ?

सन् १९५९ मा स्कटल्यान्डमा सुन्दरी प्रतियोगिताको सुरुआत भएको थियो । सुन्दरी भइन्– जरजिया सेमोर । उच्च दर्जाका रइस–एउवर्ड सेमोरकी श्रीमती । जरजिया सेमोरलाई ‘क्वीन अफ व्यूटी’को उपाधि दिइयो ।

सन् १८८० बाट ब्यूटी पेजेन्ट चर्चित हुँदै आयो । औपचारिक रुपमा सुन्दरी प्रतियोगिता सन् १९२० मा बेलायतको नाटक मञ्चमा काम गर्ने र हल सञ्चालन गर्ने एक कम्पनीका जनसम्पर्क अधिकृत ‘एरिक मोर्ले’ले सुरु गरेका थिए । स्थानीयस्तरको सुन्दरी प्रतियोगितामा ‘नाम र दाम’ दुवै प्राप्त भएकाले त्यसबाट अत्यन्तै उत्साहित र प्रेरित भएर एरिक मोर्लेले सन् १९५० मा मिस वल्र्ड प्रतियोगितालाई जन्म दिएका थिए ।

अहिले हामी कहाँ पनि सुन्दरी प्रतियोगिताको लहर तीव्र रुपमा बढ्दै छ । नेपालमा मिस नेपाल सौन्दर्य प्रतियोगिता मात्र होइन, मिस पोखरा, मिस धरान, मिस वीरगन्ज, मिस बुटवलसँगसँगै मिस नेवा:, मिस तामाङ, मिस शेर्पा, मिस मारवाडी विभिन्न जातिवादमा सुन्दरी प्रतियोगिता आयोजित भइरहेको छ । सुन्दरीहरूलाई विभिन्न जिल्लाबाट समेटिएर, सम्पूर्ण नेपालको अभिभारा बोकाएर मिस नेपाल बनाउने एउटा गौरवान्वित प्रतिस्पर्धा हो– ‘नेपाल सुन्दरी ।’

जुन सन् १९९४ मा पहिलो पटक नेपाल सुन्दरी प्रतियोगिता काठमाण्डू जेसिसले आयोजना गर्‍यो । नेपाल एक सिंगो राष्ट्रहरू नेपालीहरूको । एकता–मौलिकता–शिष्टता हाम्रो उदाहरण हो । तर यस्तो उत्कृष्ट उदाहरणलाई टुक्र्याउन खोज्ने, घिनौना अवतारमा लुकेका जातिवादमा प्रतिस्पर्धा गराउने, निन्दनीय विचारहरूको खेती गर्ने, केही क्षणिक इज्जत र थुप्रै दाम कमाउनेहरूको कमी छैन । फलस्वरुप त्यस्ता सुन्दरी प्रतियोगिता गराएर न त सुन्दरीहरूको भलो भएको छ, न फेशन इन्डस्ट्रिजहरू फस्टाएका छन् । खल्ती गरम भएको छ, सिर्फ ती आयोजकहरूको । जसले प्रवेश शुल्कमा नै सुन्दरीहरूसँग मोटो रकम लिई डकारी पनि सक्छन् ।

सुन्दरी प्रतियोगिता यस्तो प्रतियोगिता हो जसमा शारीरिक, चारित्रिक, बौद्धिक पक्षलाई मध्येनजर राखी प्रतिभालाई उजागर गरिन्छ । नकि नेपालको भेषभुषा, भाषा, संस्कृतिलाई छुट्याउने !

‘सयथरि बाजा एउटै ताल, सयथरि गोडा एउटै चाल’ जति थरि–भाषा भए पनि, पोशाक भए पनि हामी नेपालीहरू नेपाली नै हौं । हाम्रो पहिचान अलगिनु हुन्न । हाम्रो शिर सगरमाथा हो– संसारको एक मात्र सबैभन्दा अग्लो । हाम्रो शरीर बुद्ध हो– शान्तिको प्रतीक । हामीले टेक्ने पैताला हाम्रो धरातल जानकी हो– अति सहनशील । हामी वीर लडाकु हौं– गोर्खाली । र, पनि किन हामीमा भिन्नता, भेदभाव ?

महिला सशक्तिकरण वा समान अवसर दिलाउनेहरूले हाम्रो समाजमा मिस नेपालजस्तो आधुनिक जीवनशैलीलाई अपनाउन नसक्ने अवस्था स्वाभाविक नै हो । यसको विरोध अहिले होइन उहिलेदेखि नै चलिआएको चलन हो । यसलाई जातिवाद, यौन विकृति वा ग्ल्यामर व्यवसायमा जोडिए पनि यो एक आधुनिक समयको माग हो । नारी स्वतन्त्रताको युगमा सुन्दरी प्रतियोगिताले नारीभित्र अन्तरनीहित प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्छ । यो एक किसिमको पश्चिमी सभ्यताको ठाडो सिको भए पनि यसलाई हामीले संस्कृति, परम्परालाई ननाँघी आफ्नै नेपालीपनको मौलिक शैलीमा आयोजना गर्नुपर्छ । यस प्रतियोगितामा सुन्दरीहरूले शेर्पा, थकाली, थारी, भोजपुरी, मगर, गुरुङ, तामाङ, ठकुरी विभिन्न पोशाक गरगहनाहरूलाई लगाएर आफ्नै सौन्दर्य प्रदर्शन गर्‍यो भने हामीले हाम्रो संस्कृतिलाई संरक्षण गर्न सक्छौँ ।
अन्त्यमा, सुन्दरी प्रतियोगितालाई कुदृष्टि र जातिवादभन्दा पनि नारीहरूको लुकेको–दबेको आवाज र अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्नु नै सच्चा सौन्दर्य प्रतियोगिता हो । एक नारीलाई समाजबाट माथि उठाउन सुन्दरी प्रतियोगिता सक्षम होइन, घर, समाज, टोल, विद्यालय, सडक, बस, टेम्पू, कार्यालय आदिबाट इज्जत दिएर मात्र सुन्दरी बनाउन सक्नुपर्छ ।