काठमाडौँ, १३ असोज । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले थापाले आफूले कुनै अनियमितता नगरेको दावी गर्नुभएको छ ।
थापालाई एन्फाको अध्यक्षको हैसियतले कामकाज नगर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गरेर थापाले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले पत्रकार सम्मेलन गरेर आफूलाई कारबाही गरे नेपाली फुटबल नै दुर्घटनामा पर्न सक्ने चेतावनीसमेत दिनुभयो ।
एन्फा अन्तराष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले तोकेको क्षेत्राधिकारमा रहेर आफ्नो विधान अनुसार चल्ने भन्दै एन्फामाथि हुने कुनै पनि कारबाहीले नेपाली फुटबल नै निलम्बनमा पर्न सक्ने चेतावनी दिनुभएको हो ।
थापाले एन्फाको सबै हरहिसाव दिन तयार रहेको भन्दै अख्तियार र सम्पत्ति शुद्धीकरणले गर्ने छानविनमा सघाउने पनि बताउनुभयो ।
थापाले फिफा र एएफसीको विधानले कुनै पनि देशको फुटबल संघमाथि तेस्रो पक्षबाट हुने हस्तक्षेपलाई अस्वीकार गर्ने पत्रकार सम्मेलनमा दाबी गर्नुभयो ।
समितिले थापामाथि लागेको भ्रष्टाचारको आरोपको छानविन किनारा नलाग्दासम्म अध्यक्षको कामकारवाही स्थगन गर्न गराउन लेखा समितिको आइतबार बसेको बैठकले निर्देशन दिएको हो ।
थापा मन्त्रिपरिषदबाट भर्खरै मनोनित भएका सभासद हुनुहुन्छ ।













प्रतिक्रिया