२९ आश्विन २०८३, बिहिबार

छेस्कामवासी सहुलियतको नुनलाई प्रतिकिलो ५५ तिर्न बाध्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_newsaayo-noonसोलुखुम्बु, ११ असोज । आयोडिनयुक्त नुनमा सरकारले सहुलियत दिएपछि प्रतिकिलो कति रुपैयाँ पर्ला ? धेरैले अनुमान लगाउँछन् प्रतिकिलो  रु नौ वा रु १० तर हैन सोलुखुम्बुको छेस्काममा सरकारले सहुलियतमा उपलब्ध गराउने नुनको मूल्य प्रतिकिलो रु ५५ पर्छ ।

जिल्ला सदरमुकामबाट २२ कोष टाढा रहेको छेस्काम गाविसवासी सहुलियतको नुन रु ५५ प्रतिकिलोमा पाउँदा पनि दङ छन् किनकि त्यहाँका पसलहरुमा नुन प्रतिकिलो रु ७५ पर्छ ।

यसअघि त्यहाँका बासिन्दाको पहुँचमा सहुलियतको नुन थिएन । “यसपालि त गाउँका सबैले पाएका छन्, एकदमै खुसी लागेको छ । छेस्कामका दुर्गा कुलुङले भन्नुभयो ।”

साल्ट ट्रेडिङ कर्पोरेसनले सदरमुकाम सल्लेरीमा प्रतिकिलो रु नौमा नुन उपलब्ध गराउँदै आएको छ । सल्लेरीबाट छेस्काममा ढुवानी प्रतिकिलो रु ४२ पर्छ ।

स्थानीयले सहकारीले सल्लेरीमा जिम्मा लिएको नुन छेस्काम लगेर रु ५५ प्रतिकिलोमा स्थानीयलाई दामासाहीले बाँड्छन् । यसपटक उनीहरुले प्रतिघर १४ किलोका दरले नुन पाएका छन् ।

यसअघि त्यहाँका केही अगुवाहरुले सदरमुकाममा आएर गाउँको सबै नुन जिम्मा लिने र यतै बिक्री गर्ने गरेका थिए ।

तर यसपटक भने स्थानीय सहकारीले नुन जिम्मा लिएपछि गाउँका सबैले नुन पाएका छन् ।

त्यस्तै गुदेल गाविसमा पनि स्थानीय सहकारीको माध्यमबाट यसपटकदेखि सहुलियतको नुन वितरण गर्न थालिएको छ । गुदेलमा रु ५० प्रतिकिलो नुन वितरण गरिएको नुन वितरक किताबसिंह कुलुङले बताउनुभयो । रु ५० देखि ५५ प्रतिकिलोमा नुन पाउँदा त्यहाँका बासिन्दा खुसी भएका छन् ।