काठमाडौं, ७ असोज । नेपाली बजारमा सुनको खरिद बिक्रीमा कुनै कमी आएको छैन । श्रावण महिना पछि चाडबाडको मौसम शुरु हुने भएकोले पछिल्लो केही वर्षदेखि यो समयमा सुन र सुनका गरगहना खरिद गर्नेको संख्या अत्यधिक हुने गरेको छ । यो वर्ष पनि नेपाली बजारमा यतिखेर सुनको खरिद बिक्री विगतमा झैं उल्लेख्य परिमाणमा भइरहेको छ । औपचारिक रुपमा बजारमा सुनको आपूर्ती वाणिज्य बैंकहरूले गर्दछन् । अवैध रुपमा भित्रिने सुनले पनि बजारको आवश्यकतालाई एक हदसम्म पूर्ति गर्दथ्यो । तर यो वर्ष त्यसको ठिक उल्टो देखिएको छ । बजारमा सर्वसाधारणले आवश्यकता अनुसारको परिमाणमा सुन खरिद गरिरहेका छन् । तर त्यही सुन आपूर्ती गर्ने वाणिज्य बैंकहरूबाट भने सुन बिक्री हुन छाडेको तीन महिनाभन्दा बढी भएको छ । यसबाट यतिखेर वाणिज्य बैंकहरूमा झण्डै ५ क्विन्टल सुन थुप्रिएको बैंकरहरू बताउँछन् ।
यसरी बिक्रीका लागि आयात गरिएका सुन वाणिज्य बैंकहरूमै थुप्रिनुको मुख्य कारण बजारमा अवैध तवरले आपूर्ती भएकोभन्दा महँगो हुनु नै हो । सुनचाँदी व्यवसायीहरूका अनुसार आश्विन महिनाको प्रारम्भमा वैध र अवैध सुनको मूल्यमा करिब १५ सय रुपैयाँ अन्तर देखिएको छ । पछिल्लो तीन महिनामा तिब्बतको बाटो भएर काठमाडौंमा मात्र झण्डै १ हजार किलो अवैध सुन भित्रिएको छ । गत श्रावण महिनामा कोदारी राजमार्गमा गएको भीषण पहिरोले यातायात अवरुद्ध हुँदा पनि अवैध सुन आयातको क्रम नरोकिएको यस बीचमा प्रहरीले पक्राउ गरेको सुनको परिमाणले पनि पुष्टी गर्दछ । तातोपानी भन्सार स्रोतका अनुसार तस्करहरूले सेटिङ मिलाएर पछिल्ला केही महिनादेखि नेपाल भित्रिने सबै किसिमका सामानभित्र सुन राख्ने गरेका छन् । हाम्रो भन्सारको भौतिक अवस्था र प्रविधिले ती सबैमा निगरानी पुर्याउन सक्ने अवस्था पनि देखिँदैन । यसले गर्दा बैंकको सुन नबिकेपछि नाफा कमाउने आशमा रहेका बैंकलाई सामान्य धक्का पुगेको छ । अर्कोतर्फ सरकारलाई बैध सुन आयातबाट हुने राजश्व आम्दानीमा कमी देखिएको छ । उता अवैध तवरले मुलुक भित्रिएको सुनबाट न राजश्व बढ्छ न बैंक वा सम्बन्धित निकायको नाफामा नै बढोत्तरी हुने गर्दछ । यसले अवैध व्यापार गर्नेहरूलाई मात्र फाइदा पुग्ने गरेको छ । जुन फाइदा तस्करहरूसँग साँठगाँठ गर्ने उच्च सरकारी अधिकारी, राजनीतिक बिचौलिया, प्रहरी तथा राजश्वका सीमित कर्मचारीहरूको समेत अंश बन्ने गरेकोले यतिखेर बैंकमा थुप्रिएको सुन बिक्न छाडेको र अवैध सुनको आयात बढेकोतर्फ सबैले मौनता साँधेका हुन् ।
सबैभन्दा रोचक पक्ष चाँही यसअघि नेपाली बजारमा सुनको माग अत्यधिक भएकोले वाणिज्य बैंकले दैनिक बिक्री गर्ने १५ किलोग्रामको कोटालाई बढाएर ३५ किलोग्राम पुर्याउनुपर्ने सुन चाँदी व्यवसायीहरूको माग यतिखेर दबेको छ । उनीहरूले पछिल्लो दुई महिनादेखि बैंकबाट १ किलो सुन नकिने तापनि बजारमा दैनिक सयौं किलो सुनको व्यापार गरिरहेका छन् । यसतर्फ सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायले कुनै प्रतिक्रिया देखाएका छैनन् । यो अरु बढी रहस्यमय देखिएको छ । जबकी बजारमा सुनको अवैध आयात बढेपछि वाणिज्य बैंकहरूमा आउनुपर्ने नगद अमेरिकी डलर घटेको छ । यतिखेर बजारमा नगद डलरको चरम अभाव देखिएको अवस्थालाई पनि सुनको अवैध व्यापारसँग जोडेर हेर्नुपर्ने बैंकरहरू बताउँछन् । उता सुनचाँदी व्यवसायीहरू भने बैंकको सुन महँगो भएको मात्र तर्क गर्छन् । उनीहरूले बैंकले सुनमा लगाएको होल्डिङ्ग चार्ज अत्यधिक भएको तर्क पेश गरेपनि वैध सुन आपूर्तिको अभावमा पनि बजारमा सजिलैसँग सुनका गरगहनाको बिक्रीमा कुनै कमी नआएकोतर्फ कसैले विश्लेषण गरेका छैनन् ।
विगतमा नेपालमा भन्दा भारतमा सुन महँगो हुने गरेकोले नेपालको बाटो भएर सुन भारत पुग्थ्यो । तर यतिखेर भारतमा भन्दा नेपालमा सुन महँगो छ । तर, पनि नेपाली बजारमा अविश्वसनीय तवरले सुनको खपत बढ्नुलाई शुभ संकेत मान्न सकिँदैन । सुरक्षाको अभाव र अत्यधिक महँगोका कारण पनि यतिखेर नेपाली समाजमा सुन किनेर थुपार्ने प्रवृत्ति पनि देखिँदैन । तर चीन र भारतजस्तो अत्यधिक सुन खपत गर्ने दुई देशको तुलनामा हाम्रो समाजको क्रय शक्ति र आकारले दैनिक १ सय केजी सुन खपत गरिरहेको, वैध आयात प्रणालीलाई नकारेको, बजारमा नगद डलर सटही उल्लेख्य कमी आएको तथा पछिल्लो केही महिनादेखि कोदारी मार्गमा फेला पर्ने गरेको अविश्वसनीय परिमाणको अवैध सुनतर्फ भने राज्यका जिम्मेवार निकायले कुनै चासो नदेखाएपछि बैंकहरू करोडौं लगानी फसाएका सुन ढुकुटीमा राखेर पिरोलिनु बाहेक अरु उपाय नभएको बैंकरहरू नै बताउँछन् ।














प्रतिक्रिया