२९ आश्विन २०८३, बिहिबार

हिमालपारीको जिल्ला मुस्ताङका किसानलाई दशैँसँगै स्याउ टिप्ने चटारो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

apple-mustang

मालती खत्री
म्याग्दी, ६ असोज । हिमालपारीको जिल्लाका रुपमा चिनिने मुस्ताङमा चाडपर्वको शुरुआतसँगै यस वर्षको स्याउ टिप्ने चटारोले यहाँका किसानलाई छोपेको छ ।

दशैंलाई लक्षित गरी टिप्न शुरु गरिएको स्याउको मुल्य मुस्ताङमै प्रति केजी २० रुपैयाँले बढेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङमा रेड रोयल, गोल्डेन तथा रिचए रेड डेलिसियस जातका स्याउको खेती हुँदै आएको छ ।

यहाँ उत्पादन भएका स्याउ भारत तथा अन्य जिल्लाका भन्दा रसिला र गुलिया तथा धेरै दिनसम्म पनि ताजा नै रहने भएकोले बजारमा माग बढेको मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत रेवती पौडेलले बताउनुभयो ।

स्याउको टिप्ने उपयुक्त समय नभएपछि किसानको बगैंचामै पुगेर आकर्षक मूल्य दिन थालेपछि कोबाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ झोङ, घमीलगायतका गाविसका किसानहरुले स्याउ बिक्री गर्न थालेका हुन् ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीखण्डका केही भागमा सडक अवरुद्ध भए पनि गत भदौको दोस्रो सातासम्म १७ ट्रक स्याउ निर्यात भैसकेको कृषि विकास कार्यालयका तथ्याङ्क अधिकृत पथबहादुर गुरूङले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले स्याउ खेतीलाई प्रोत्साहन गर्न एक बिरुवा बराबर तीन वर्षसम्म ३ सय रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउने गरिएकाले पनि किसानमा उत्साह थपिएको हो । करिब ३८ हजार बिरुवा वितरण गरिएकोमा रोपिएको बिरुवाको अवलोकन गरी २६ लाख अनुदान दिइएको छ ।

मुस्ताङमा उत्पादित स्याउ म्याग्दी, बागलुङ, पोखरा, काठमाडौलगायत देशका अन्य स्थानमा समेत जाने गर्दछ । एक ठेकेदारले करिब ५ करोडसम्म खरिद गरी ट्रकमार्फत ढुवानी गर्ने गरेको किसानको भनाई छ ।

स्याउ ढुवानीका लागि कृषि विकास कार्यालयले कार्टुनमा ७५ प्रतिशत अनुदान दिएको छ । यसवर्ष तल्लो मुस्ताङका विभिन्न गाविसका साथै उपल्लो मुस्ताङको छुसाङ र घमी गाविसबाट समेत स्याउ बिक्री हुने बताइएको छ ।
अघिल्ला वर्षमा सडक विस्तार नहुँदा छुसाङका स्याउले बजार अभावमा समस्या झेल्दै आएका थिए । जिल्लाको ८ सय ६७ मध्ये यसवर्ष ३ सय १५ हेक्टरबाट ४२ सय मेट्रिक टन स्याउ निर्यात गरिने अनुमान कृषि विकास कार्यालय मुस्ताङको रहेको छ ।

समयमै हिमपात, प्राविधिक तालिम, समयमै मलजल, औजार वितरण, आधुनिक प्रविधि, किसानको आर्कषणले समेत उत्पादन बढेको । मुस्ताङको टुकुचे र मार्फा गाविसलाई स्याउको पकेट क्षेत्रका रुपमा मानिन्छ ।
यसैबीच काँचै स्याउ टिप्दा स्वाद कम हुने तथा जिल्लाकै उत्पादनमा नकारात्मक असर पर्ने भन्दै कृषि विकास कार्यालयले आफ्नो प्राविधिक सल्लाहमा स्याउ टिप्न किसानलाई अनुरोध गरेको छ ।

व्यापारीले आकर्षक मूल्य देखाएर काँचै स्याउ बजारमा लैजान थालेपछि अघिल्ला वर्षमा मुस्ताङको स्याउको स्वादमा कमी आएको टिकाटिप्पणी भएको थियो ।