काठमाडौँ, ५ असोज । दक्षिण कोरियाको इचोन सहरमा जारी १७ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल खेलमा नेपाल जापानसँग लज्जास्पद हार बेहोर्दै प्रतियोगितामा आफ्नो यात्रा टुङ्गाएको छ ।
दक्षिण कोरियाको ग्यायोङ रङ्गशालामा भएको २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोली सहभागी प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानसँग ०–४ गोलअन्तरको लज्जास्पद हार बेहोर्दै प्रतियोगितामा पूर्णविराम लागेको हो । तीन खेलमा नेपालले १३ गोल खान पुग्यो ।
यसअघि भएको पहिलो खेलमा नेपालले इराकसँग ४–० र दोस्रो खेलमा कुवेतसँग ५–० गोलअन्तरले हार भोगेको थियो ।
सोह्र वर्षपछि पहिलो पटक सहभागिता जनाएको नेपालले यस पटक पनि केही नयाँ उपलब्धि हासिल गर्न सकेन । प्रतियोगितामा न त जित हासिल गर्न नै सक्यो न त बराबरी नै । प्रतियोगितामा खराब प्रदर्शनसँगै एक गोल पनि नफर्काई घर फर्कन बाध्य बन्यो ।
एसियाडमा नेपालको यो पाँचाँै सहभागिता हो । यसअघि सन् १९८२, १९८६, १९९४ र १९९८ मा नेपाल सहभागी भएको थियो । नेपालले सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाडबाट अन्तर्राष्ट्रियस्तरमा औपचारिक यात्रा सुरु गरेको थियो । त्यतिबेला नेपालका बाइबी घलेले कुवेतविरुद्धको खेलमा एक गोल गरेका थिए । त्यो नै नेपालको एसियाडमा एक मात्र गोल हो ।














प्रतिक्रिया