दीपेन्द्र खड्का
दक्षिण कोरिया (ईन्चोन), ५ असोज । चिनीयाँ खेलकुद मन्त्री लिउ पेङले मकवानपुरको हेटौडामा अत्याधुनिक सुबिधायुक्त खेलकुद प्रतिष्ठान (स्पोर्टस एकेडेमी ) निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
१७ औँ एशियाली खेलकुद प्रतियोगिताका क्रममा दक्षिण कोरियाको ईन्चोनमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको नेपाली प्रतिनीधीमण्डलसँगको भेटमा चिनीयाँ मन्त्री लिउले आफुहरु नेपालको खेलकुद विकासमा ठोस योगदान गर्न ईच्छुक रहेको भन्दै हेटौडामा खेलकुद प्रतिष्ठान निर्माणका लागि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
भेटमा उहाँले नेपालको विकास निर्माणका साथै खेलकुदको क्षेत्रमा पनि आधुनिक सीप र प्रविधी उपलब्ध गराउने बचन दिनुभयो ।
मन्त्री लिउले हेटौडामा निर्माण हुने खेल प्रतिष्ठान निर्माणका लागि ठोस प्रस्ताव जति सक्दो छिटो चीन सरकारलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।
नेपालको खेल जगतमा आफुहरुले उपलब्ध गराउने सहयोगले दुई मुलुकबिचको ऐतिहासिक सम्बधलाई थप उचाईमा पुर्याउने उहाँको भनाई छ ।
उहाँले मन्त्री पौडेलले गरेको नेपाल भ्रमणको निमन्त्रणालाई स्विकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो ।
भेटमा नेपालका तर्फबाट युवा तथा खेलकुद मन्त्री पौडेलले चीन सरकारले नेपालको विकासमा प्रदान गर्दै आएको सहयोगको प्रसंसा गर्दै खेलकुद क्षेत्रको भौतिक पुर्वाधार निर्माणमा समेत सहयोग उपलब्ध गराउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
मन्त्री पौडेलले खेलकुद क्षेत्रमा चीनले प्रदान गर्ने सहयोगबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा थप उर्जा प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।
मन्त्री पौडेलले नेपाल संधै एक चीन नीतिप्रती प्रतिबद्ध रहेको भन्दै नेपालमा कुनैपनि चीन बिरोधी गतिविधि नहुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।
भेटमा नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले नेपालको खेल क्षेत्रको विकासमा योगदान गर्ने चिन सरकारको यस कदमले नेपाली खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटनमा ठुलो योगदान पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
भेटमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डि शेर्पा, युवा तथा खेलकुद मन्त्रालयका सह सचिव चुडामणी पौडेल र नेपाल सुटिङ संघका महासचिव रन्जन श्रेष्ठको सहभागिता थियो ।














प्रतिक्रिया