काठमाडौं, २६ भदौ । दिपक महर्जनले दायाँ खुट्टाको लिगामेन्ट च्यातिएपछि आफूले पटक–पटक राष्ट्रिय खेलकुद परिषदलाई उपचार गराउन आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेको भन्दै दुःख व्यक्त गरेका छन् ।
१६ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने एक मात्र मुक्यबाज ( बक्सर ) खेलाडी महर्जनले बोसि गाउँ स्पोर्टर्स क्लबले बिहीबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दुःख व्यक्त गरेका हुन् ।
‘राष्ट्रको लागि ज्यान नै जोखिममा राखेर खेल खेल्दा दाहिने खुट्टाको लिगामेन्ट च्यातिएपछि उपचारका लागि पटक–पटक विन्ति गर्दा पनि राखेपले कुनै सुनुवाई गरेन,’ उनले भने, ‘देशका लागि रगत–पसिना बगाउने खेलाडीलाई राज्यले यसरी बेवास्ता गरेपछि म घरको न घाटको भएको छु ।’
राखेप सदस्य सचिव युवराज लामालाई आग्रह गर्दा लामाले कुनै हालतमा उपचार नगर्ने धम्की दिएको पनि उनले गुनासो गरे ।
‘सदस्य सचिव भनेको खेलाडीहरुको अभिभावक हो तर उहाँले मलाई अत्यन्तै नीच व्यवहार गर्नुभयो,’ महर्जनले गुनासो पोखे ।
उनको उपचारका लागि करिव १४ लाख रकमको आवाश्यक पर्छ तर सरकारले जम्मा ७ लाख रुपैयाँ मात्रै प्रदान गरेको छ । उनको १७ औं एसियाली खेलकुदको तयारीका क्रममा दायाँ खुट्टाको लिगामेन्ट च्यातिएको हो ।
महर्जनले आफुलाई राष्ट्रिय खेलकुद परिषदले बेवास्ता गरेको भन्दै आफ्नो उपचारका लागि सम्पूर्ण खेलप्रेमी, उद्योगी, व्यवसायी र विभिन्न संघ संस्थाहरुलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
उनले आफूलाई सहयोग गर्न चाहने महानुभावहरुलाई एभरेष्ट बैंकको खाता नम्बर ००३००१०५२००३९० मा रकम जम्मा गरिदिन पनि आग्रह गरेका छन् ।














प्रतिक्रिया