चितवन, २१ भदौ । चितवनमा अण्डाको भाउ एक महिनामै दुईपटक बढेको छ ।
यही भदौ ३ गते अण्डाको मूल्य बढाएका व्यवसायीले फेरि अहिले नयाँ मूल्य कायम गरेर बिक्री सुरु गरेका छन् । भदौ ३ गते अण्डाको मूल्य बढाएर प्रतिक्रेट रु २७० कायम गरिएकोमा अहिले प्रतिक्रेट रु १० बढाएर रु २८० पु¥याएका छन् । साना अण्डाको मूल्य प्रतिक्रेट रु २०० बाट २२० पुगेको अण्डा उत्पादक सङ्घले जनाएको छ ।
सङ्घकाअनुसार किसानबाट लगेका सप्लायर्सले रु पाँच फाइदा खाएर दोकानमा बेच्नु पर्छ । तर अहिले सप्लायर्सले दोकानलाई ३०० सम्म अण्डाको मूल्य राखेर बेचिरहेको र किसानलाई भने तोकेको मूल्यअनुसार पैसा नदिने गरेको गुनासो सर्वत्र छ ।
एक व्यावसायीकाअनुसार अझै किसान मूल्य नै प्रतिक्रेट ३०० बनाउने तयारी भएको छ । यसोगर्दा उपभोक्तले प्रतिगोटाको रु १४÷१५ तिर्नुपर्छ ।
अहिले नै उपभोक्ताहरूले प्रतिगोटा १२ भन्दामाथि तिर्नु परिरहेको छ । चाडबाड लागेको र उत्पादन पनि कम भएकाले मूल्य बढाउन व्यवसायीहरू उद्दत रहेको बताइएको छ ।
कुखुराको राजधानी मानिने चितवनमा भदौअघि अण्डाको मूल्य प्रतिक्रेट रु २२५ देखि रु २३५ सम्म रहेको थियो । एक वर्षअघि बर्डफ्लु लागेपछि अण्डा उत्पादन घटेको चितवनमा अझै उत्पादन साविकको हुन सकेको छैन ।
अहिले प्रतिगोटा अण्डामा करिब २० पैसा घाटा भइरहेकोले मूल्य बढाउनुपरेको पूर्वी चितवन पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष रघुनाथ भट्टले बताए ।
मुख्य गरी अण्डा उत्पादक किसान र सप्लायर्सहरूको बीचमा सामाञ्जस्यता कायम नहुँदा केही समस्या परेको अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिबराम केसीले बताए ।
चितवनमा एक वर्षअघि कुल छ हजार ५०० पेटीभन्दा बढी अण्डा उत्पादन हुँदै आएको थियो । तर अहिले घटेर तीन हजार ५०० पेटीमा झरेकाले अण्डाको माग अत्यधिक रहेको कँडेलले बताउनुभयो । प्रतिपेटीमा २१० वटा अण्डा हुन्छ ।
एक तथ्याङ्कअनुसार नेपालमा दैनिक कुल नौ हजार पेटी अण्डाको माग भए पनि करिब आठ हजारको हाराहारीमा अण्डा उत्पादन हुँदै आएको छ ।













प्रतिक्रिया