दीपक अधिकारी
लमजुङ, १९ भदौ । लमजुङका कृषकहरु मत्स्य पालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालय लमजुङले मत्स्य पालन व्यवसायमा सहुलियत दिन थालेपछि किसानहरुको सो व्यवसायतर्फ आर्कषण बढेको हो ।
लमजुङमा हाल ११.३ हेक्टर क्षेत्रफलमा माछा पालन व्यवसाय गरिएको छ ।
जसबाट लमजुङमा करिब १५.२ मेक्ट्रिकटन माछा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार लमजुङका माछा पालक किसानहरुले गतबर्ष ११ मेट्रिक्टन माछा उत्पादन गरेर बार्षिक ३५ लाख ४२ हजार आम्दानी लिएका थिए ।
कृषि कार्यालयले पूर्वी लमजुङको धमिलिकुवा, चक्रतीर्थ, तार्कुघाट, मध्यक्षेत्रमा सुन्दरबजार, तार्कु, भोटेओडार, पश्चिमी क्षेत्रमा भोर्लेटार, इशानेश्वर, रम्घा र जीतालाई माछा पालनको प्रमुख क्षेत्र घोषणा गरेको छ ।
यी गाविस बाहेक सदरमुकाम बेसीसहर, गाउँसहर, चितिलगाययतका क्षेत्रमा पनि व्यवसायिक माछा पालन भैरहेको छ ।
कृषि कार्यालयले अभियानमुखी मत्स्य पालन कार्यक्रम अन्र्तगत ५६ रोपनी क्षेत्रफलमा माछा पोखरी निर्माणका लागि सहयोग गरेको थियो ।
जसमा एक रोपनी जग्गामा माछा पोखरी निर्माण गरेबापत रु दश हजार सहयोग प्रदान गरेको जिल्ला कृषि विकास कार्यालय लजुङले जनाएको छ ।
मत्स्य विकास निर्देशनालय बालाजुले सो कार्यका लागि सहयोग गरेको थियो ।
आर्थिक बर्ष २०६९÷०७० मा मात्रै जिल्लामा मत्स्य पालन व्यवसायको भौतिक संरचना निर्माणका लागि १३ लाख ७० हजार खर्च भएको छ ।
जसमध्ये जिल्लामा ५६ रोपनीमा नयाँ पोखरीहरु निर्माणका लागि ७ लाख ३० हजार पश्चिमी लमजुङकोे भोर्लेटारमा मत्स्य नर्सरी स्थापना गर्नका लागि ५० हजार रकम जिल्ला कृषि विकास कार्यालयले खर्च गरेको छ ।
मत्स्य विकास निर्देशनालयबाट मत्स्य नर्सरी स्रोतकेन्द्र धमिलिकुवामा रु ६ लाख सहयोग गरेको छ ।
भोर्लेटारमा स्थापना भएको मत्स्य नर्र्सरीमा बाहिरबाट माछाका भुरा ल्याई ‘फिङगर’ साईज भएपछि बितरण गरिने जिल्ला कृषि बिकास कार्यलयका कृषि प्रसार अधिकृत चौधरीले बताउनुभयो ।
यस्तै धमिलिकुवामा ३३ जना किसानले अन्नपूर्ण मत्स्यपालन कृषि सहरकारी दर्ता गरेर माछापालन व्यवसाय गरिरहेका छन ।
स्वास्थ्यका लागि निकै उपयोगी हुने भएकाले माछाको लोकप्रियता बढ्दो छ ।
अहिले सदरमुकाम बेसीशहरमा जनकपुरदेखिका माछा खपत भइरहेको अवस्था छ । युवाहरुलाई बेरोजगार भए भन्दै विदेश जान चाहने युवाहरुको अहिले कमी छैन ।
तर सानो लगानीले हाम्रै गाउँघरमा राम्रो आम्दानी गर्न सकिने माछा पालन व्यवसाय गर्न सके बेरोजगारले बेरोजगार भए भनेर पीर गर्नै नपर्ने कृषि प्राविधिकहरु बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालयले माछा पालन विस्तारका लागि क्षेत्र विस्तार कार्यक्रम, विभिन्न किसिममा तालिम, माछा भुरा ढुवानी अनुदान, माछा जाल वितरण, मत्स्य ब्यबसाय सरोकारवालाहरुविच अन्र्तक्रिया, बजारीकरण, माछा नर्सरी स्थापना लगायतका काम गर्दै आईरहेको कृषि प्रसार अधिकृत चौधरीले बताउनुभयो ।













प्रतिक्रिया