२८ आश्विन २०८३, बुधबार

तुइनको जोखिमले सामान बिक्री गर्नै समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tuinधादिङ, १७ भदौ । वर्षाको समय त्रिशूली नदी बढेर बगरसमेत छोपिएको बेला कुम्पुर गाविस वडा नं २ खरमटारवासीलाई गाउँबाट बजार जानकै लागि समस्या खेप्नुपरेको छ ।

गाउँमा बिक्रीका लागि लानुपर्ने सामानको थुप्रै छ । गाउँको तल रहेको तुइनको बाक्सा नदी पारि भएकाले कसले ल्याइदेला भनेर खबरटारवासी कुरेर बसेका छन् । नदी ठूलो भएकाले हिँडेर तर्न सकिँदैन । पुल नभएपछि खरमटारवासीलाई त्रिशूली नदी सास्ती बनेको छ ।

खरमटार र गजुरी गाविस वडा नंं २ जोड्ने त्रिशूली नदीमाथि रहेको तुइन गाउँवासीका लागि पिरलो बन्दै गएको छ ।     तुइनको लट्ठाको तार छिनेर समात्ने ठाउँमा फलामका तिखा काँडा निस्केका छन् । कोर्के पारि भएको बेला मान्छे आउँला र कोर्के वारि ल्याउँला भनी घण्टौँ पर्खिनुपर्छ । लट्ठालाई हातले तान्दै पारि पुग्दा हातभरि रगत आउँछ । यस्तोे दैनिकी र नियति बनेको स्थानीय बलराम मगरको भनाइ छ ।

गाउँमा उत्पादन भएको तरकारी, दूध, फलफूल बेच्न जाने व्यापारी हुन् या नुन तेल किनेर फर्किने उपभोक्ताहरु । दैनिक आवतजावत गर्ने विद्यार्थी, गोठाला, भरिया र ज्यामीहरु आफ्नो हातमा दिनानुदिन रगत चुवाउँदै ज्यान हत्केलामा राखेर जीर्ण तुइनबाट नदी वारपार गर्न बाध्य छन् ।

दश वर्षअघि निर्माण गरिएको खरमटारको तुइन जीर्ण बन्दा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । गाउँभरका एक सय जनाभन्दा

बढी विद्यार्थी यो तुइन प्रयोग गरी गजुरीको आदर्श उमावि पढ्न जान्छन् ।

तुइन प्रयोग गर्दा १५ मिनेटमा हाइवे पुगिने भए पनि तुइनले हात काटेर होस् या तुइनबाट लडेर आत्तिएकाहरु, दुई घण्टाको पैदल हिँडेर गजुरीको झोलुङ्गे पुलबाट त्रिशूली नदी पार गरी हाइवे आउने गर्छन् ।

स्थानीय ८४ वर्षीया धनकुमारी नेपाल पहिला नदी तर्न डुङ्गाको प्रयोग गर्ने गरेको र १० वर्षअघि तुइन बन्दा गाउँमा हर्षोल्लास छाएको सम्झिँदै अहिले तुइनले धेरैलाई अङ्गभङ्ग बनाएको र तुइन प्रयोग गर्नेले ज्यानको आश मार्नुपर्ने भएकाले तुइन अभिशाप भएको बताउँछन् ।

तुइनबाट नदी तर्दा सरस्वती पण्डित, पितबहादुर मगर, बलराम लामिछानेजस्ता धेरैको हातमा एउटा औँला छैन भने सुनिता नेपाल र अनुष्का मगर तुइनबाट लडेर घाइते भएका छन् ।

गाउँमा भएका महिलाले तुइन जीर्ण भई तरकारी, दूधजस्ता उपभोग्य वस्तु बजारमा पु-याउन नसक्दा दुई चार पैसाका लागि पनि छोरा मान्छेको भरपर्नु परेकाले आत्मनिर्भर हुन नसकेको एकता आमा समूहका अध्यक्ष निर्मला मगरले बताए ।

खरमटारमा पुल बन्ने हो भने कुम्पुर १, २, ३ र ४ वडा प्रत्यक्ष लाभान्वित हुने र महिला पनि तरकारी र दूध बेचेर आत्मनिर्भर बन्ने स्थानीयवासी बताउँछन् ।

तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खरमटार, नेपालटार र शमिटारका बासिन्दाले तरकारी उत्पादन गरेर पनि त्रिशूलीमा झोलुङ्गे पुल नहुँदा उचित मूल्यमा बेच्न पाएका छैनन् ।

सहज आवागमनको अभावले नदीपारिको राजमार्ग खरमटारवासीलाई प्रयोगविहीन बनेको छ । गाउँमा विवाह उत्सव हुँदा पनि जन्ती तथा बेहुला–बेहुली र सरसामान पनि तुइनबाटै तार्नुपर्ने अवस्था रहेको र तुइन जीर्ण बन्दा थप समस्या थपिएको स्थानीय हरि नेपालको भनाइ छ ।

गाउँमा कोही बिरामी पर्र्दा या कतैबाट राति आइपुग्दा समस्यामा पर्ने गरेको स्थानीयवासी ठाकुर नेपालले बताए ।

आफू बसेको कोर्के धकाल्न त्रिशूली नदीमाथि एउटा फलामको लट्ठामा खुट्टाले टेकेर सामान या मान्छेसहितको बाक्सालाई दुईजनाले माथिबाट धकेल्दै वारिपारि गर्नु कुम्पुर गाविस वा नं ४, खरमटार, नेपालटार र शमिटारका स्थानीय बासिन्दाको दैनिकी बनेको छ ।