इस्लामावाद, १५ भदौ । पाकिस्तानमा सरकारविरुद्ध सुरू भएको आन्दोलनका क्रममा आइतबार झडप भएको छ ।
झडपमा परी आइतबार बिहान कम्तीमा पनि एकजनाको ज्यान गएको छ भने अरू ४०० भन्दा बढी घाइते भएका छन् ।
प्रदर्शनकारीहरु शनिबार रातिदेखि नै इस्लामावादमा अनसनमा बसेका थिए । उनीहरु र सुरक्षाकर्मीबीच आइतबार बिहान झडप भएको अधिकारीहरूले जनाएका छन् ।
शनिबार रातिदेखि नै परिस्थिति तनावपूर्ण रहेको बताइएको थियो । अनसनमा बसेका आन्दोलनकारीहरु आइतबार बिहान संसद भवनदेखि प्रधानमन्त्रीको कार्यालयसम्म र्यालीमा सहभागी भएका थिए ।
उनीहरूले सडक छेउका रेलिङ भाँच्ने तथा सुरक्षाकर्मीमाथि पनि आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि कारबाही गरेको स्पष्टीकरण दिएको छ ।
प्रहरीले टियर ग्यास र रबरका गोली प्रहार गरेको बताएको छ । रबरको गोली लागेर एकजना व्यक्तिको ज्यान गएको बताइएको छ ।
इस्लामावाद प्रहरीका प्रमुख खालिद खटकले भने, ‘प्रहरीले निकै नै संयमता अपनाउने प्रयास गरेको भएपनि प्रदर्शनकारीहरु हतियारसहित उपस्थित भएका र बिजुली तथा टेलिफोनका तार काट्ने तथा प्रहरीमाथि पनि जाइलाग्न थालेपछि प्रहरीले बाध्य भएर रबरका गोली चलाएको हो ।’
प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयको प्रमुख प्रवेशद्वारमा पनि अवरोध गरेका र सो क्रममा प्रहरीले कारबाहीस्वरुप गोली चलाएको बताएको छ ।
संसददेखि प्रधानमन्त्री कार्यालयसम्म गरिएको भनिएको सो र्यालीमा कम्तीमा पनि २५ हजार प्रदर्शनकारी रहेका बताइएको छ ।
ती प्रदर्शनकारीमा केही आतङ्ककारी पनि रहेका र उनीहरूको घुसपैठका कारण परिस्थिति नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ ।
पाकिस्तानमा तीन हप्तादेखि नै आन्दोलन जारी रहेको छ । विपक्षी दलले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले वर्तमान प्रधानमन्त्री नवाज सरिफको राजीनामाको माग गरिरहेका छन् । सन् २०१३ मा भएको आमनिर्वाचनमा प्रधानमन्त्रीले धाँधली गरेको आरोप उनीमाथि रहेको छ ।
पाकिस्तानमा जारी रहेको सो आन्दोलनमा आज पहिलो पटक प्रहरी हमला भएकाले आन्दोलन चर्किन पनि सक्ने आशङ्का गरिएको छ । – एएफपी













प्रतिक्रिया