‘राते काईला’ का नामले सबैले चिन्ने कलाकार हुन्, सुनिल थापा । सँधै भिलेनको भूमिका देखिने थापा मनका भने त्यति कठोर रहेनछन् । खुसी बाड्ँन आफैले काठमाडौेंको पाँचतारे होटल अन्नपूर्णमा आयोजना गरेको कार्यक्रममा सुनिल यसरी रोए कि सबैको अनुहार केही बेरमै ओइलिइएको फुलझैं भयो ।
बलिउडका फिल्ममा खेलेर फिल्म ‘मसाल’बाट नेपाली रजतपटमा डेब्यु गरेका चर्चित अभिनेता सुनिल थापा ‘मसाल’ पछि फिल्म ‘चिनो’ बाट ‘राते काइँला’का रुपमा चिनिए । यिनै ‘राते काइँला’ पुनः एकपटक बलिउडमा आफ्नो अभिनय छाप छोड्न सेप्टेम्बर ५ को पर्खाइमा छन् ।
बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जयलिला भन्सालीले निर्माण गरेको फिल्म ‘मेरी कोम’मा बलिउड देशी गर्ल प्रियंका चोपडाको बक्सिङ गुरुका रुपमा अभिनय गरेका सुनिल त्यही फिल्मको ट्रेलर रिलिजसँगै पुनः चर्चित बनेका छन् ।
यिनै बक्सिङ गुरु बुधबार फिल्मकर्मी र सञ्चारकर्मीमाझ ‘मेरी कोम’ अनुभव सुनाइरहँदा पटक–पटक आफ्नो गला अवरुद्ध पारिरहे । ‘म सधै भिलेन भएर खेल्थे, चलचित्र हेरेपछि दिदीबहिनीहरु मलाई गाली गर्नुहुन्थ्यो’, आँखाभरी आँसु पारेर अभिनेता सुनिल थापा भन्दै थिए– ‘तर त्यो गाली नै तेरो प्रशंसा हो भनेर साथीभाईले सान्त्वना दिँदा धेरै खुशी हुन्थे ।’ सुनिल थापाले यसो भनिरहदाँ त्यहाँ उपस्थित सबै भावुक बन्न पुगेका थिए ।

विगत ४० वर्षदेखि कलाकारिता पेशामा आबद्ध अभिनेता थापाले बोलेसँगै सहभागी चलचित्रकर्मी र संचारकर्मी पनि भावुक देखिन्थे । हिन्दी चलचित्र ‘एक दुजे के लिए’ बाट औपचारिक रुपमा अभिनयको यात्रा शुरु गरेका थिए । सन् १९८२ मा ‘मसाल’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका अभिनेता थापाले त्यसपछि चलचित्र ‘चिनो’ मा ‘राते काइला’ भएर अभिनय गरे । ‘कलिउडका ‘राते काइला’ बलिउडमा पुगे, अब हलिउडसम्म पुगुन्’, कार्यक्रममा सहभागीहरु मध्ये एकले उनको विषयमा यसरी तारिख गरेका थिए । थापाले ३० वर्षपछि बलिउडमा सन्जय लिला भन्सालीको चलचित्र ‘म्यारी कोम’ मा प्रियंका चोपडाको बक्सिङ गुरु भएर काम गरेका छन् । चलचित्र यही शुक्रवारबाट प्रदर्शन हुँदैछ ।














प्रतिक्रिया