काठमाडौँ, ९ भदौ । थाइल्यान्डमा हुने एएफसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसीपमा सहभागिता जनाउने नेपाली युवा फुटबल टोलीको सोमबार विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज यहाँ आयोजित विदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र एन्फा अध्यक्ष गणेश थापाले विमल घर्तीमगरको कप्तानीमा रहेको २२ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गर्नुभयो ।
यही भदौ २२ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्ने चार टोलीले अर्को वर्ष चिलीमा हुने यु–१७ विश्वकप फुटलब प्रतियोगितामा एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन पाउनेछन् ।
नेपालले सो प्रतियोगिताको तयारीका लागि केही समयअघि उत्तर कोरिया र बेल्जियममा गएर प्रशिक्षण लिएका थिए ।
समूह ‘सी’ मा रहेको नेपालले समूह चरणको पहिलो खेल भदौ २२ गते उज्वेकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै २४ गते कुवेतसँग र २६ गते उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले आयोजक थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।
गत वर्ष काठमाडौँको दशरथ रङ्गशालामा भएको एएफसी यु–१६ च्याम्पियनसीपमा नेपाल छनोट भएको थियो ।
सोही कार्यक्रममा बङ्गलादेशमा हुने यु–२३ मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको पनि विदाई गरिएको थियो । टोली आज नै त्यसतर्फ प्रस्थान गर्नेछन् । उक्त टोलीले यही भदौ १० र १३ गते दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछन् । रासस














प्रतिक्रिया