२८ आश्विन २०८३, बुधबार

‘आफ्नो गाउँमा देवताझैं थिए श्रीकृष्ण’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shree-krishna-shrestha-death.1jpg

सुनकोसीमा बाढी पहिरोले सयौको ज्यान गएपछि शोकमा डुबेका सिन्धुवासी अभिनेता श्रीकृष्ण श्रेष्ठको असामयिक निधनले मर्माहत भएका छन् । सिन्धुपाल्चोकको विकट घुम्थाङ गाविस–४ थगाममा जन्मिएका श्रेष्ठको बाल्यकाल थगाममा नै बितेको थियो । पाँच दाजुभाइमध्ये श्रीकृष्ण कान्छा हुन् ।

गाउँको सामाजिक अभियानमा सक्रिय रहेका श्रेष्ठको निधनसँगै घुम्थाङले एक सामजिक अभियन्ता गुमाएको उनको गाउँमै रहेको विद्यालय सरस्वती माविका शिक्षक मदन नेपालले बताए । आफ्नै गाउँको विद्यालयलाई उनले धेरै सहयोग गरेका थिए । एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उनले २५ हजार दिने गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका अभिनेता श्रीकृष्णले आफ्नो गाउँसम्म पुग्ने सडकलाई समेत सहयोग गरेको शिक्षक नेपालले बताए । अभिनेता श्रेष्ठका दाइ श्यामकृष्ण श्रेष्ठ सोही विद्यालयका प्रधानध्यापकसमेत हुन् ।

‘यो गाउँ र विद्यालयका लागि त उनी देउता नै थिए । शिक्षक नेपालले भने, ‘दैवले पनि राम्रो मान्छेलाई मात्र लैजाँदो रहेछ ।’ बेलाबेलामा गाउँमा जाँदा श्रेष्ठले गरिब विद्यार्थीलाई झोला, गाउँका वृद्धा पुरुषहरूलाई कोट र महिलाहरूलाई पछ्यौरा दिने गरेका थिए । श्रेष्ठ गाउँमा जाँदा उनले धेरै कलाकार साथीहरूलाई पनि लिएर जाने गरेको उनले बताए । सँगै गएका साथीहरूले विद्यालयका लागि सहयोग गरेको शिक्षक नेपाल सम्झन्छन् । ‘सरस्वती माविमा अध्ययन गरेका विद्यार्थीविज्ञान विषय अध्ययनका लागि टाढा जानुपर्ने भएपछि अभिनेता श्रेष्ठले आगामी वर्ष विज्ञान विषय यहीँ अध्ययनका लागि पहल गर्छु भनेका थिए तर त्यो उनको रहर अब पूरा नहुने भयो,’ नेपालले भावुक हुँदै भने ।

घुम्थाङ–४ थगाममा अहिले पनि उनको पुरानो शलैीको भव्य घर छ । ९० सालताका बनेको यही घरमा श्रेष्ठ गाउँमा जाँदा बस्ने गरेका थिए । अभिनेता श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कहाँ भेटिएला’ को अधिकांश दृश्यको छायांकन उनकै गाउँमा गरिएको थियो ।

राजधानी दैनिकबाट साभार