२८ आश्विन २०८३, बुधबार

श्रीकृष्णलाई सम्झेर पोखरेली दर्शकका आँखा रसाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shree-Krishna-Shrestha

अमृत सुवेदी

पोखरा, २९ साउन । श्रीकृष्ण श्रेष्ठको दुःखद निधनले सिने क्षेत्र तथा उनलाई माया गर्ने पोखरेली दर्शकलाई शोकाकुल बनाएको छ । नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय नायक श्रेष्ठको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै निधनको खबर आउने वित्तिकै सामाजिक सञ्जालहरुमा दर्शकले दुःखी हुँदै शोक व्यक्त गरेका थिए ।

यस्तै उनलाई श्रद्धान्जली अर्पण गर्न कै लागि उनको प्रदर्शनमा रहेको चलचित्र ‘कोहीनूर’ हेर्न पोखराको बिन्दवासिनी चलचित्र मन्दिरमा पोखरेली दर्शकको ठूलो भिड लाग्ने गरेको छ । अधिकांश समय खाली रहने हल खचाखच त भरिने गरेको छ । तर कसैलाई रमाइलो लागिरहेको देखिन्न । अरुबेला रमाइलो मानी मानी चलचित्र हेर्ने दर्शकका आँखा आँसुले रसाएका देखिन्छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न कै लागि चलचित्र कोहीनूर हेर्न आएको दर्शक रुपक थापाले बताए । श्रेष्ठले कहिल्यै नमेटिने एउटा छाप छोडेर गएको उनको भनाइ छ । ‘निधन एउटा प्रकृया हो, पालो सबैको आँउछ । तर, यत्ति धेरै दुःखी म कहिल्यै भएको थिइन्’, थापाले भने ।

सबैभन्दा ठूलो बज्रपात श्वेता खड्कालाई परेको छ, जसले लामो सयमको प्रेमलाई एक महिनाअघि मात्र विवाहमा परिणत गरेकी थिइन् श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्दै पोखरेली दर्शकले स्वेताप्रति समवेदना प्रकट गरे । पोखरेली दर्शकले भने– ‘स्वेता तिमी मात्रै एक्लो भएकी छैनौ, हामीले पनि एक्लो भएको महशुस गरेका छौं ।’

श्रीकृष्णसँग हात मिलाउँदै उनले बनाएको फिल्म हेर्ने सपना पालेका दर्शकका लागि आइतबार बिहानै दुःखको खबर आयो । अब कहिल्यै त्यो अवसर पाउने छैनन् उनका शुभ चिन्तकले । पछिल्लो पटक ‘कोहीनुर’ नाम राखेर फिल्म बनाएका श्रीकृष्णले फिल्म प्रदर्शनको तिथि नजिकिँदै गर्दा प्राण त्याग गरेर दर्शकदेखि सहकर्मी समेतलाई नरमाइलो बनाइदिए ।

उनको मृत्युको खबरले दुःखी भएका दर्शक कोहीनूर हेरेर उनलाई अझ बढी सम्झना र श्रद्धा अर्पण गर्दै थिए । श्रेष्ठको निधन भएको विश्वास नै नलागेको फिल्म हेर्न पुगेकी सम्झना आचार्यले बताइन् । ‘म उनको हरेक चलचित्र र अभिनयवाट प्रभावित छु । उनको मृत्यूको खबरले साह्रै दुःखी बनायो । म चाहन्छु उनको मृत्यू फिल्ममा जस्तै होस् र फेरी हामी साझ आऊन् तर यो सम्भव छैन्’, आचार्यले भनिन् ।

चलचित्र कोहीनूरमा श्रेष्ठको ‘म मर्न चाहन्न आमा, मलाई बचाउनुस’ भन्दै रुँदै गरेको दृश्य आउँदा धैरेले आँशु बगाएका थिए । चलचित्रमा भने जस्तै नचाहेरे पनि दैबले चुँडेर लगेको सम्झेरै उनको मृत्यूको पीडा आफुलाई भएको दर्शक राहुल नेपालीले बताए ।

चलचित्र सकिएपछि उनको अनुहार झलझली अनुहारमा नाचिरहेको दर्शक सन्देश श्रेष्ठले बताए । श्रेष्ठले भने ‘मैले हरेको अधिकांश उनको चलचित्र यथार्थपरक लाग्छ । अन्य नायक जस्तो चर्चामा आउन नचाहने र धेरै रवाफ पनि नदेखाउने एक सुन्दर नायकको रुपमा मैले उनलाई चिनेको छु र हुन पनि । म जस्तो दर्शकलाई उनको निधनको खबरले गहिरो पिडा दिएको छ’ ।

श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्दै पोखरेली दर्शकले भने– ‘तिमी मरेका छैनौ, तिमी अजम्बरी छौ, कहिल्यै मर्ने छैनौ ।’

shree-krishna-pokhara

तस्वीरः सुमन लम्साल