जेरुसेलम, २८ साउन । महिना दिनभन्दा लामो समयदेखि इजरायलको आक्रमणका कारण आक्रान्त बनेको प्यालेस्टाइनी गाजा क्षेत्र दुई दिनयता शान्त छ ।
इजरायलले ७२ घन्टे युद्धविरामको सुरु भएको घोषणा सोमबार बिहान गरेको हो । सो युद्धबिराम स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेबाट प्रभावकारी एको थियो । त्यसयता गाजामा हमला नभएकोले त्यहाँका नागरिकले शान्तिको सास फेर्न पाएको अधिकारीहरुले जनाएका छन् ।
इजरायलले गाजामा जारी राखेको आक्रमण सोमबारबाट स्थगित गरेपछि मङ्गलबार र बुधबार पनि त्यहाँ शान्त रहेको बताइएको छ । सोमबार बिहान गाजाले इजरायलतर्फ रकेट हमला गरेको बताइएको थियो । तर, इजरायलले भने गाजामा आक्रमण गरेन ।
तर, मंगलबार र बुधबार पनि बिहानैदेखि गाजा क्षेत्रमा शान्ति छाएको अधिकारीले बताएका हुन् । इजरायल र गाजाबीच गत जुलाई ८ मा युद्ध सुरु भएको थियो । सो हिंसाका कारण गाजामा मात्र एक हजार ९३९ जना प्यालेस्टाइनीको ज्यान गइसकेको छ ।
त्यसैगरी, सो हिंसामा परी इजरायलतर्फ पनि क्षति भएको बताइएको छ । गएको जुलाई ८ देखि सुरु भएको सो हिंसामा परी इजरायलका ६७ जना मारिएका छन् । तीमध्ये अधिकांश इजरायली सैनिक रहेका छन् । एएफपी














प्रतिक्रिया