२८ आश्विन २०८३, बुधबार

द्विपक्षीय सचिवस्तरीय संयन्त्र क्रियाशील बनाउन नेपाल–चीन सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

Flag-Pins-China-Nepal_20110511080316

काठमाडौँ, २७ साउन । अर्थमन्त्री डा. रामशरण महतले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध सुधार्ने दिशामा आफ्नो चीन भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ ।

एकसाता लामो भ्रमण सकी स्वदेश फर्कनुभएका अर्थमन्त्री महतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमणका क्रममा चिनियाँ उच्च अधिकारीसँग भएको भेटमा दुईपक्षीय हित र आर्थिक सहयोगका विषयमा कुराकानी भएको बताउनुभयो ।

चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा यही साउन २१ गते उहाँ बेइजिङतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका अवसरमा अर्थमन्त्री महतले त्यहाँका वाणिज्यमन्त्री गाओ हुचेङसँग पनि छलफल गर्नुभएको थियो ।

वाणिज्य मन्त्री हुचेङसँग नेपालका कतिपय थाँती रहेका विषयलाई टुङ्ग्याउन द्विपक्षीय सचिवस्तरीय संयन्त्र क्रियाशील बनाउन दुवै पक्ष सहमत भएको अर्थमन्त्री महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त संयन्त्र क्रियाशील नहुँदा कतिपय समस्या अल्झिएर बसेका थिए, त्यसलाई समाधान गर्न हामीले आग्रह ग¥यौँ । चिनियाँ पक्षले त्यसलाई स्वीकार गरेको छ ।”

सो अवसरमा चिनियाँ ठेकेदारको समग्र कार्यदक्षता कतिपय स्थानमा सन्तोषजनक नभएको विषयमा अर्थमन्त्री महतले चिनियाँ पक्षको ध्यानाकर्षण गर्नुभएको थियो । त्यस विषयमा चिनियाँ पक्षले चीनका धेरै ठेकेदारमध्येबाट छनोट गरेर गुणस्तरीय सेवा दिने कम्पनीलाई मात्र बिडिङ (ठेक्का) प्रक्रियामा सहभागी गराउन नेपाललाई आग्रह गर्नुभएको थियो ।

त्यसैगरी, सुनकोसीको पहिरोले ठूलो मानवीय क्षति भएकामा चिनियाँ पक्षले सहानुभूति जनाएको र त्यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसैगरी चीनको हुनान प्रान्तमा भूकम्प गएर भएको व्यापक जनधनको क्षतिप्रति अर्थमन्त्री महतले दुःख प्रकट गर्नुभएको थियो ।

भ्रमणकै अवसरमा दुई देशबीचको व्यापारमा सन्तुलन कायम गर्न नेपालका लागि चिनियाँ बजार खुकुलो गर्न गरिएको आग्रहलाई चिनियाँ वाणिज्य मन्त्री हुचेङले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थमन्त्री महतले बताउनुभयो । नेपालको चीनतर्फको निर्यात रु दुई अर्ब ५३ करोड र आयात रु ६८ अर्ब ४५ करोड रहेको छ भने व्यापार घाटा रु ६५ अर्ब रहेको छ ।

अर्थमन्त्री महतले ल्हासामा त्यहाँको संसद्का अध्यक्ष बाइमा सिलिनसँग भेटवार्ता गर्नुभएको थियो ।

भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव मधु मरासिनी र उपसचिव लालबहादुर खत्री सम्मिलित हुनुहुन्थ्यो ।