खोटाङ, २६ साउन । यस जिल्लाको उत्तरी गाविस जालपाका किसानले पालेको कुखुरामा अज्ञात रोग देखापरेपछि कृषक चिन्तित भएका छन् । अज्ञात रोगका कारण जालपा–३, ७ र ९ लगायतका किसानले पालेको ‘लोकल’ कुखुरा धमाधम मर्न थालेका छन् ।
टाउकोमा घाउ हुने, टाउको पाक्ने, आँखा पाक्ने, विस्तारै आँखा बन्द हुनेलगायतका लक्षण देखापरेको तीन÷चार दिनमै कुखुरा मर्ने गरेको स्थानीय अमर विश्वकर्माले बताउनुभयो । स्थानीय जनताका अनुसार रोगले एकै घरका १५ वटासम्म कुखुरा मरेका छन् ।
कृषि प्राविधिक गङ्गा विश्वकर्माका अनुसार अज्ञात रोगले स्थानीय अमर विश्वकर्मा, धनशोभा राई, विष्णु श्रेष्ठ, कालीबहादुर राईलगायतका किसानको दर्जनौँ कुखुरा मरेका छन् ।
महिना दिन अघिदेखि फैलिएको यो रोगले क्रमशः महामारीको रुप लिन थालेको अमर विश्वकर्माले बताउनुभयो ।
स्थानीय पशुस्वास्थ्य केन्द्र जालपामा कर्मचारी नबस्ने गरेका कारण कुखुरामा फैलिएको रोग नियन्त्रण गर्न समस्या भएको स्थानीय जनताको गुनासो छ । कालीबहादुरले भन्नुभयो, “सुरुमा एक÷दुई घरबाट सुरु भएको रोग अन्य वडाका कुखुरामा फैलिँदैछ, समस्या सुनाउन जाउँ भने पशुसेवा केन्द्रमा कर्मचारी बस्दैनन् ।”
जिल्ला पशुसेवा कार्यालय खोटाङले भने कुखुरामा फैलिएको रोगबारे आफूहरुलाई जानकारी नआएको बताउनुभएको छ ।
यसअघि पनि सदरमुकाम दिक्तेललगायत आसपासका गाविसका कृषकले पालेका कुखुरामा ‘रानी खेत’नामक रोगको महामारी फैलिएको थियो । दाना नखाने, झोक्राउने, सेतो छेर्ने, टाउको बाङ्गो हुने, तन्काउनेलगायतका लक्षण देखिने यो रोगका कारण कुखुराको खोर नै रित्तो बनेको दिक्तेलका व्यवसायी गुणराज सैंजूले बताउनुभयो । रासस














प्रतिक्रिया