२८ आश्विन २०८३, बुधबार

माछापालनमा नेपालकै नमुना बन्दै रुपन्देहीको दयानगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fish Machha

भरत केसी 

बुटवल, २५ साउन । माछा पालनमा नेपालमै नमूना रुपमा विकास हुदै गएको रुपन्देहीको दयानगर गविस–२ छपिया वैदलीमा करिव ४ करोडको लागतमा व्यवसायीक माछा पालन सहित बहुउद्देश्यीय कृषि ब्यवसाय सुरु गरिएको छ । रुपन्देहीका तीनजना युवा ब्यवसायीहरुको लगानीमा बहुउद्देश्यीय कृषि ब्यवसाय सुरु गरिएको हो ।

करिव ९ विगाहा अर्थात ६ हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरी माछा पालन सुरु गरिएको प्रालिका अध्यक्ष दिवाकर भुषाल (दिपु) ले जानकारी दिनुभयो । उहाँका अनुसार ७ वटा माछा पोखरी निर्माण गरेको छ ।

अहिले ६ विगाहा क्षेत्रफल अर्थात ४ हेक्टरमा माछा पोखरी निर्माण गरिएको छ भने अन्य क्षेत्रफलमा व्यवसायीक रुपमा सफल रहने ‘टिक, श्रीखण्ड, रक्तचन्दन, पाउलोनिया (चाईनीज साल) का विरुवाहरु रोपिएको छ ।

युवा उद्यमीहरु दिवाकर भुषाल (दिपु), लोचन भुषाल र मिनराज भुषालको संयुक्त लगानीमा रेन्वो मत्स्य तथा कृषि फार्म प्रा.लि.स्थापना गरी व्यवसाय सुरु गरिएको हो । निकट भविष्यमा यस क्षेत्रमा भारतबाट आउने मासुजन्य सामग्रीको आयात प्रतिस्थापनको लागि वृहत्तर योजना निर्माण गरी मत्स्य तथा कृषि फार्मको स्थापना गरिएको प्रालिका अध्यक्ष दिवाकर भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रालिले माछा मात्र नभई अन्य मासुको लागि प्रयोग हुने खुकुरा, हाँस र बाख्रा समेत पाल्ने योजना रहेको छ ।

गत बर्षको चैत महिनाबाट पोखरी खन्न सुरु गरिएकोमा अहिले ४० हजार माछाको भुरा र करिव ५ लाख ह्याचरी (भुरा भन्दा सानो) पोखरीमा छोडिएको छ । पहिलोपटक माछा पालन सुर गरेकोमा राम्रो आम्दानी हुने अपेक्षा फर्मले लिएको छ । भैरहवामा रहेको मत्स्य विकास केन्द्रबाट माछाको भुरा ल्याएको र त्यसमा अपुग माछाको भुरा अन्य निजी मत्स्य केन्द्रबाट खरिद गरेर ल्याएको छ । अहिले उक्त फार्ममा कमन, ग्रास, रहुँ, नाईनी, सिलवर, विग्रेड, भ्याकुर प्रजातीका माछाहरु हुर्किरहेका छन् । यसको अलवा कृर्षि फर्म प्रालिले छिटै नै रुपन्देहीको दयानगर गाविस– ५ छपियाको धनसार क्षेत्रमा करिव १५ विगाहा क्षेत्रफलमा माछा पोखरी खन्ने योजना बनाएको अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

अहिले ब्यवसायबाट प्रत्यक्ष रुपमा १५ जना र अप्रत्यक्ष रुपमा करिव ४५ जनाले रोजगारी पाईरहेका छन् ।

यसका अलवा कृर्षि फार्मले व्यवसायीक काठ उत्पादनको लागि १० कठ्ठा क्षेत्रफलमा ४ सय वटा टिक र यस क्षेत्रमा पहिलो पटक पाउलोनिया (चाईनीज साल) को वृक्षरोपण गरिएको छ ।

छोटो समयमा नै राम्रो काठ उत्पादन हुने पाउलोनिया र टिकको विरुवा व्यवसायीक रुपमा सफल हुने भएको कारणले यसको व्यवसायीक रुपमा वृक्षरोपण गरिएको प्रालिले जनाएको छ ।

जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख दिपक ज्ञवालीका अनुसार पाउलोनिया प्रजातीको विरुवा काठको लागि उपयुक्त हुने भन्दै खासगरी पानि नजम्ने र पहाडी जिल्लाहरुमा यसले व्यवसायीक सफलता पाएको बताउनुहुन्छ ।

एक हेक्टर क्षेत्रफलमा टिकको विरुवा रोपेमा त्यसको २५ देखि ३० बर्षमा करिव ३० लाख रुपैया आम्दानी गर्न सकिने जिल्ला वन कार्यालयको भनाई रहेको छ । यसरी एक हेक्टर क्षेत्रफलमा टिक को विरुवा रोपियो भने एक बर्षमा १ लाख आम्दानी गर्न सकिने वन प्राविधिकहरुको भनाइ छ । रासस