२९ आश्विन २०८३, बिहिबार

‘चरी’को मृत्यु प्रकरण : छानबिन गर्न राज्य किन डराउँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhikari-chari

समाचार टिप्पणी : राधाकृष्ण देउजा 

विभिन्न अपराधमा आरोपी रहेका अनि प्रहरीको गोली लागेर मृत्यु भएका भनिएका दिनेश अधिकारी उर्फ ‘चरी’ को मृत्युको वारेमा छानविन हुनुपर्ने वा नपर्ने भन्ने विवादले अहिले राम्रै ठाउँ पाएको छ । यही घटनाको विषयलार्इ लिएर कतिपय मानिसहरु धमिलो पानीमा माछा मार्ने कोसिस गर्दै छन् । जस्तैः एकातिर दिनेश अधिकारी ‘चरी’ को मृत्युको सम्वन्धमा प्रहरीले दिएको तर्कसंग सहमत हुन नसकिने भन्दै छानविनको माग गरिरहेका एमाले नेता राजेन्द्र पाण्डे लगायतलाइ वदनाम गराउने ढंगको कार्य भैरहेको छ । साथसाथै एमालेका केहि सभासदहरुले चरी मृत्यु सम्वन्धि घटनाको सत्यतथ्य छानविन हुनुपर्छ भनेर आवाज उठाए भन्दैमा गुण्डागर्दी रहित सभ्य समाज निर्माणको एमाले परिकल्पनामा समेत प्रश्न उठाउने कार्य गरिदैछ । दिनेश अधिकारी ‘चरी’ अपराधी थिए होलान, उनको मृत्यु प्रहरीले दावी गरेजस्तै हिसावले भएको पनि होला । तर, प्रहरीको दावी झुठो छ भनेर आवाज त उठेकै छ । सार्वजनिक पत्रपत्रिकामै उनकी प्रेमिका भनिने खुस्बु ओलीले यो षड्यन्त्रको उपज हो भनेर भनिरहेको अवस्थामा उनको मृत्यु सम्वन्धमा प्रहरीको दावी निर्विवाद नरहेको प्रष्टै भएको छ । जब कुनै व्यक्तिको मृत्युको विषयमा सवाल खडा हुन्छ भने छानविनको माग गर्नु गलत हो त ? के छानविनको माग गर्नुनै अपराध हो त ? त्यो किमार्थ हैन र त्यसै हुनाले घटनाको छानविन होस, सत्यतथ्य वाहिर आउनुपर्छ भन्नेमै हामी सवैको जोड हुनुपर्छ ।

हामीले सभ्य र कानुनी राज्य खोजेको हो भने राज्य संयन्त्रहरु निरीह पनि नहुन र अराजक हुन पनि नपाउन भन्ने विषयमा सतर्क हुनैपर्छ । जब राज्ययन्त्रहरुको कामकारवाहीमा तत्कालिन राजनीतिक शक्तिका उचित या अनुचित इच्छा चाहना झल्किन थाल्छन् तब त्यो निरीह भएको हुन्छ । जब राज्ययन्त्रका गतिविधि प्रचलित कानुन , सामाजिक परम्परा अनि जनताको भावनाको खिलाफ जान्छ तब त्यो अराजक भएको हुन्छ । कुनै पनि सरकारी निकायले गरेका काम कारवाहीको वारेमा छानविन हुनुपर्छ भन्ने मागको समेत अपव्याख्या हुन्छ भने त्यसले उक्त निकायहरुलाई अराजकता तर्फ डोहोर्याउने खतरा हुन्छ । तसर्थ अहिले ूचरीू मृत्युको वारेमा छानविनको माग गरिरहेकाहरुको तेजोबोध गर्नमा हैन उक्त घटनाको छानविन तत्काल हुनुपर्छ भनेर सबैले एकतावद्ध भएर आवाज उठाउनुपर्छ र त्यसो गर्दा निम्न लिखित कार्यहरु हुनेछन:

१. यदि प्रहरीले भनेकै जस्तो दिनेश अधिकारीले प्रहरीलाई गोली चलाएको रहेछन र प्रहरीले जवाफी कारवाही गर्दा उनी मारिएका रहेछन भने प्रहरीप्रतिको आशंका समाप्त हुन्छ र प्रहरीले थप विश्वास आर्जन गर्छ र सम्मान कमाउँछ ।

२. नेपाल प्रहरी मानवअधिकार रक्षाको विषयमा कति गम्भीर छ त ? भन्ने प्रश्नको समेत व्यवहारिक ढंगले उत्तर दिने अवसर आउनेछ ।

३. दिनेश अधिकारी उर्फ ‘चरी’ ले के के अपराध गरेका रहेछन, को कस्ता मान्छेहरु उनको कारणले पीडित भएका रहेछन त भन्ने विषय पनि प्रष्ट हुन्छ ।

४. यदि उनको हत्या प्रहरीले सुनियोजित ढंगले गरेको हो भन्नेहरुको दावी प्रमाणित भएमा उक्त काण्डमा संलग्नहरुको पहिचान हुनेछ र त्यस्ताहरुले सजाय पाउनेछन ।

५. सबैभन्दा महत्वपूर्ण कुरा त अहिले ‘चरी’ यसरी मारिए र उसरी मारिए भन्ने अनुमानमा आधारित समाचारहरुको श्रृखंला समेत वन्द हुनेछ, जनता प्रष्ट हुनेछन ।

कसैले अपराधीको पक्षमा बयान दिनुको विरोध हुनुको तात्पर्य वुझ्न सकिएला, अपराधीलाइ जेल मुक्त गराउन वा सजाय कम गराउन मरिहत्ते गरेर हिड्ने कार्यको विरोध हुनु स्वाभाविक र आवश्यक हुन्छ तर जब छानविनको मागको विरोध हुन्छ त्यो भने वेठिक हुन्छ । समाचार सुत्रहरुले लेखे अनुसार एमाले नेता राजेन्द्र पाण्डे लगायतले मागेको त्यही छानविन हो । ल मानौ छानविन गरेर प्रहरीलाइ दोषी देखाउने उहाँहरु मध्य केहीको चाहना होला रे । तर के अहिलेको अवस्थामा त्यो सम्भव छ ? सचेत जनताको पंक्तिले झुठो सत्य स्थापित हुन देला ? पक्कै दिदैन । हो, त्यसै भएको हुनाले छानविन गरिनुपर्छ भन्ने मागलाइ गलत ढंगले व्याख्या गरिनु हुदैन । अझै रोचक कुरा त के छ भने दिनेश अधिकारीको मृत्युको बारेमा छानविनको माग गरिएको विषयलार्इ लिएर राजनीतिक दलहरुको असफलतामा आफूलाइ सफल भएको देख्ने कथित र स्वघोषित वुद्धिजीवीहरु लागेका छन् अनि सकारात्मक सोच भएका केही राजनीतिकर्मी समेत अन्योलमा परेर अभिव्यक्ति दिदैछन । उदाहरणको निम्ति नेपाली जनताको दुख र पीडाको कथा वेचेर सुविधा सम्पन्न जीवन विताउने अनि राजनतिक शक्तिको नाममा देशको शासन हत्याउने सपना बोकेकाहरु ‘चरी’ मृत्युको वारेमा छानविनको माग गरिरहेका राजेन्द्र पाण्डेहरुको दोहोलो काटदै छन् भने केहि आशालाग्दा राजनीतिक व्यक्तिहरु त्यसमै लहैलहै गर्दैछन । सायद त्यसरी लहैलहैमा लागेका एमालेकै केही नेताहरुले वुझेका छैनन् कि राजनीतिक व्यवस्थालाइ असफल पार्न त्यसको मुख्य शक्ति राजनीतिक दल र तिनका नेताहरुलाई यो वा त्यो नाममा वदनाम गराउनुपर्छ भन्ने कुत्षित मनशायले समेत अहिले भूमिका खेलिरहेको छ । वाढी पहिरो पीडितको सहायता गर्न एमाले निकट अनेरास्ववियुले संचालन गरेको अभियान र सहयोग वितरणको वारेमा केहि नबोल्नेहरु, वाढी पीडितलाइ सहायता गर्न आफैं पुग्ने माधव नेपालको भूमिकाको वारेमा नलेख्नेहरु, आज एउटा घटना छानविन हुनुपर्छ भनेर माग गरेको विषयलाइ किन उछालिरहेका छन ? भन्ने प्रश्नको जवाफ सायद त्यति कठिन नहोला । यसमाथि यस घटनाको सन्दर्भमा अपराध अनुसन्धान महाशाखाका एसएसपी पुष्कर कार्की स्वयंले दिनेश अधिकारी मृत्युको सम्वन्धमा आफुलार्इ राजनीतिक तवरले कुनै दबाब नपरेको प्रष्ट पारिसकेको अवस्थामा प्रहरी र कुनै राजनीतिक दललार्इ एक अर्काको दुश्मन जस्तो देखाउने काम आफैंमा वेठिक हो । छानबिन गर्ने गरिने कुराले कार्की जस्ता व्यवसायिक प्रहरीलाइ पक्कै चिन्ता भएको छैन । तर, त्यसले कतिपयले असम्वन्धितहरुलाइ हुटहुटी लाग्नु पक्कै आश्चर्यजनक छ ।

कतिपय सामान्य मानिसहरुलाइ लागेको छ, दिनेश अधिकारी ‘चरी’ अपराधी थिए, उनको मृत्यु भएर केहि घाटा भएको छैन, त्यसैले उनको मृत्युको बारेमा छानविन आवश्यक छैन । अपराध र अपराधीहरुको गतिविधिले आक्रान्त जनताको यो भावना वुझ्न सकिन्छ तर यसमा सहमत हुन सकिदैन किनकी कुनै पनि हिसावले राज्यको गतिविधिलाइ पारदर्शी वनाउने कार्य रोकिनु हुँदैन । दिनेश अधिकारी हुन वा अन्य कुनै अपराधी किन नहुन उनीहरु सवैले गरेको अपराधको वारेमा छानविन हुनुपर्छ । गरेको अपराध अनुसारको सजाय गरिनु पनि पर्दछ । प्रहरीले आफ्नो भूमिका कानुन वमोजिम निर्वाह गर्दा वाधा अवरोध भएमा प्रहरीले त्यसमा प्रतिकार गर्न पाउँछ र पाउनुपर्छ । तर, उसले गरेका हरेक काम कारवाहीको वारेमा जस्तोसुकै छानविनको निम्ति प्रहरी संगठन तयार हुनुपर्छ । जब गल्ती गरिएको हुँदैन भन्ने छानविन हुने विषयले चिन्ता हैन उत्साह थप्छ र थप्नुपर्छ किनकी सकारात्मक सोच सहित कानुन वमोजिम गरिएको कामको छानविन हुँदा गरेको काम दुनियाले थाहा पाउछन अनि स्यावासी पाइन्छ ।

अहिले ‘चरी’ मृत्यु सम्वन्धि घटनामा पनि यदि प्रहरीले भनेकै जस्तो भएको हो भने छानविन आयोगको प्रतिवेदन सार्वजनिक हुँदा प्रहरीले झन् धेरै बधाई पाउनेछ र विश्वसनीयता हासिल गर्नेछ । यहाँ हामीले स्मरण एउटा सत्य स्मरण गर्नु उपयुक्त हुन्छ त्यो के भने अमेरिकाको इतिहासकै कहाली लाग्दो ११ सेप्टेम्वर २००१ को आतंकवादी हमलाका मुख्य योजनाकार खालिद सेख मोहमद अहिले पनि अमेरिकी जेलमा छन र उनको मुद्दालाइ कानुनी हिसावले चलिरहेको छ । यदि राज्य पनि उनीजस्तै गैरजिम्मेवार हुनसक्थ्यो भने त उनलाई अहिलेसम्म जीवित नराख्न अमेरिकाले सक्दैन थियो होला त ? तर राज्य कहिले पनि अपराधीजस्तै गैरजिम्मेवार र अराजक बन्नु हुँदैन र हामीले वन्न दिनु पनि हुँदैन । तसर्थ ‘चरीू’मृत्युको घटनाको छानविन गर्नु भनेको अपराधलाइ चोख्याउने र त्यस विरुद्धको अभियानलाइ कमजोर पार्ने कदम हुन्छ भनेर वुझ्ने गल्ती गर्नु हुदैन ।

हामीले त भन्नुपर्छ कि, हो यस घटनाको वारेमा तुरुन्त स्वतन्त्र छानविन हुनुपर्छ, हामीले नियाल्नु पनि पर्छ, कसरी छानविन गरिन्छ भनेर । अनि यदि सत्यलाइ तोडमोड गर्ने कार्य भएमा विरोध पनि गर्नुपर्छ । तसर्थ ूचरी ू मृत्युको सम्वन्धमा छानविन हुनुपर्छ भनेर आवाज उठाइ रहेका राजेन्द्र पाण्डे लगायतको तेजावोध वन्द गर्नुपर्छ । तर, उहाँहरुलाइ पनि भन्नुपर्छ कि माननीयज्युहरु यहाँहरुको छानविन सम्वन्धि मागमा हाम्रो समर्थन छ । तर त्यसको प्रतिवेदनलाइ स्वतन्त्र हुन नदिएर आफ्नो दावी अनुसार वनाउन खोजिएमा हाम्रो कडा विरोध पनि हुनेछ । तर एउटा कुरा के पनि हो भने यस घटनाको छानविनको निम्ति संसदीय समिति वनाउनु चाहिं उपयुक्त हुँदैन । त्यसको सट्टा स्वतन्त्र र विज्ञेंहरु सम्मिलित छानविन समिति वनाउनुपर्छ । यहाँ स्वयं नेता राजेन्द्र पाण्डले समेत याद राख्नुपर्ने कुरा के हो घटनानै पिच्छे प्रहरीलाइ संसदीय छानविनको दायरामा ल्याउने हो भने प्रहरीको हालत नुन खाएको कुखुरा जस्तो हुनेछ, उनीहरुको मनोवल कम्जोर हुनेछ । प्रहरीको गतिविधिको वारेमा छानविन गर्ने कुरा खुल्ला हुनुपर्छ भन्नुको मतलव प्रहरीको भूमिकालार्इ कम्जोर पार्ने कार्य किमार्थ गरिनु हुदैन । सबैले वुझ्नुपर्छ कि प्रहरी कमजोर हुँदा कोही पनि वलियो हुन सक्दैनन ।

लेखक न्युयोर्कमा रहेर सुरक्षा बिषयमा अध्यनरत छन् ।