बिभिन्न खाले अपराधमा नाम जोडिएका दिनेश अधिकारी अर्थात ‘चरी’ को प्रहरीको गोली लागेर मृत्यु भएको खवरले यतिवेला एक खालको सनसनी मच्चिएको छ ।सविधानसभा भवनदेखि सामाजिक सञ्जालसम्म चरी मृत्युको बारेमा चर्चा परिचर्चा भैरहेका छन् । दिनेश अधिकारी उर्फ ‘चरी’को मृत्यु यसरी भयो वा त्यसरी भयो, यस कारणले उनी मारिए वा उस कारणले मारिए भन्ने खालका अनुमानमा आधारित समाचारहरु बाहिर आइरहेका छन । उनको मृत्यु स्वाभाविक प्रहरी कारबाहीको परिणाम थियो वा थिएन भन्ने विषयमा समेत भिन्नभिन्न दाबीहरु आइरेहका छन् ।कोही भन्दैछन् उनलाई प्रहरीले पक्राउ पश्चात मारेको हो । कोही भन्छन् उनलाई प्रहरीले जिउँदै पक्राउ गर्ने सम्भावना हुँदाहुँदै हत्या नै गर्ने मनसायले गोली हानेर मारेको हो । अझै उनको मृत्यु हुनुमा उनको प्रेम सम्वन्धको कारणले जन्माएको प्रतिशोधले काम गरेको र त्यसमा प्रहरी अधिकृत समेत जोडिएको भन्ने दावी समेत बाहिर आएको छ । अर्कोतर्फ प्रहरीको दावी भने प्रहरीलाई चरीले पहिला गोली हानेकोले जबाफी फायरमा उसको मृत्यु भएको हो भन्नेछ । गुण्डागर्दीले आजित जनसमुदायको एउटा पंक्ति भने यो घटनालाइ गुण्डागर्दी नियन्त्रणतर्फको यात्रा मानिरहेका छन् । उनीहरुको नजरमा यो घटनाको बारेमा वहस पैरवी गरेर समय खेर फाल्नुको अर्थ छैन । थरीथरीका गुण्डागर्दीले पीडित जनताको चासोको विषयमा नपरेको भएपनि कुनै पनि व्यक्तिको मृत्युको कारण जव रहस्यमय वा विवादास्पद हुन्छ, तब त्यस विषयमा सत्यतथ्य छानविन हुनुपर्छ । कतिपय राम्रो भावना भएका मान्छेले समेत भन्ने र लेख्ने गरेका छन- गुण्डा कसरी मर्यो भनेर पनि छानविन गर्नुपर्छ त ? सामान्यतः कुरा ठिकै हो । तर, साथसाथै के पनि सत्य हो भने जहाँ राज्यको संलग्नतामा कसैको मृत्यु हुन्छ त्यसवखत राज्यको दायित्व हुन्छ कि मारिएको व्यक्ति कुनै प्रतिशोधको सिकार भएर मरेको थिएन भन्ने प्रमाणित गर्ने । राज्य गैरजिम्मेवार हुन सक्दैन र हुनुहुदैँन भन्ने मान्यताको आधारमा यो तर्कले जित्दै आएको पनि छ । त्यसैले चरी मृत्युको सम्वन्धमा छानविन हुनुको मतलव पनि राज्यको गोली प्रतिशोध साँध्न प्रयोग भएको थिएन भन्ने प्रमाणित गर्ने अवसर समेत हो भन्ने भुल्नु हुदैन ।
दिनेश अधिकारी अर्थात् ‘चरी’ एक अपराधीको रुपमा चर्चामा रहेका थिए, उनले गरेको अपराधकर्मको आधारमा उनले सजाय पाउनुपर्थ्यो भन्ने आमभनाइसँग फरक मत राख्ने विषय नै छैन । यद्दपि चरीको मृत्यु भैसकेको हुनाले उनलाइ लागेका जति आरोपमा उनि दोषी थिए वा थिएनन ? भन्ने प्रश्नले उत्तर पाउन सक्ने अवस्था समाप्त भैसकेको छ । अहिले चरीको त मृत्यु भैसकेको छ तर चरीले गर्ने गरेका भनिएका जस्ता अपराध गर्नेहरु अहिले पनि समाजमा छन र कतिपयलार्इ विभिन्न शक्ति केन्द्रको देखिने(नदेखिने सहयोग रहने गरेको समेत सुनिन्छ । त्यस्ता सवै अपराधीहरुलाई उनीहरुको अपराध अनुसारको कारवाही हुनुपर्छ । अपराधीहरुलाइ समात्नु ठूलो कुरा हो । तर त्यस भन्दा ठूलो भनेको अपराधीलाई अपराध वमोजिमको सजाय दिलाउने विषय हो । हामीले अपराधी वा डनको संज्ञा दिएका व्यक्तिहरु कतिपटक समातिए अनि कतिपटक छुटे, त्यसको कुनै लेखाजोखा छैन । जतिपटक उनीहरु समातिए, त्यतिपटक उनीहरुको शक्ति वढेको छ किनभने समातिएपिच्छे उनीहरुको प्रचार हुने गरेको छ र उनीहरु एकदम कम समय मात्रै थुनुवा वा वन्दी बन्ने गरेका छन् । यस्तो हुनुमा राजनीतिक दलहरुका नेताहरुको दवावले भूमिका खेल्ने गरेको आरोप अक्सर लाग्ने गरेको छ, जुनकुरा सत्य पनि होला तर त्यसको साथसाथै अर्को सत्य के हो भने अपराधी कानुनको सिकंजामा परेर छुट्न सक्नुमा प्रहरीको कम्जोर अनुसन्धानले समेत काम गर्दै आएको छ । उदाहरणको निम्ति विगत केही समयमा राजधानीका कैयौं गुण्डा समातिएको खवरहरु आएकै थिए, गुण्डा समात्ने प्रहरी अधिकृतको रुपमा चर्चा कमाएका रमेश खरेलले राजनीतिक नेताको दबाब सुन्दिन, मान्दिन पनि भनेकै थिए । तर पनि गुण्डा लामो समय जेलमा रहन सकेनन । कारण के हो भने प्रहरीले अदालतमा चित्त वुझ्दो ढंगले वा अझै भनौँ कि हैन भन्नै नसक्ने ढंगले आरोप प्रमाणित गराउन सकेन । राजनीतिक दलका नेताहरुको सोर्सफोर्स मात्रै काम लाग्दो हो त सभासद समेत भैसकेका रामचन्द्र प्यासी अहिले व्यक्ति हत्याको आरोपमा जेलमा पक्कै हुने थिएनन् । जहाँ प्रहरीले यथेष्ट प्रमाण पुर्याएर मुद्दा दर्ता गरेको छ त्यहाँ नेताले चाहेर पनि अपराधी छुटेका छैनन भन्ने विषय हरेक घटनाको गहन अध्ययनले प्रष्टै पार्छ ।
विडम्वनानै भनौँ चाहेर हो वा नजानेर हाम्रो प्रहरी बेलाबेलामा चुक्ने गरेको छ । राज्यको सर्वोच्च अदालतले हत्याको अभियुक्त ठहर गरिसकेको व्यक्ति हेलिकप्टर चढेर सरकारी सुरक्षामा हिँड्न पाउनु भनेको प्रहरी चुक्ने गरेको उदाहरण हो । अब अहिले चरीको मृत्युले गुण्डागर्दीको सञ्जाललाइ जरैदेखि उखेल्नुपर्छ भन्ने विषयमा माहोल वनेको छ । त्यस अवस्थामा चरी कसरी मारिए ? को थिए चरी ? उनले गरेका भनिएका अपराधहरु के के थिए भन्ने विषय समेत वाहिर ल्याउन समेत न्यायिक छानविन हुनु उचित हुन्छ । । प्रहरीको नियमित कारवाहीमा अवरोध गर्न खोजेको हुनाले प्रहरीले गोली प्रहार गर्दा चरी मारिएकै रहेछन भने पनि त छानविन हुने कुराले के विगार्छ त ? आखिर पहिला पनि त प्रहरी इन्काउन्टरमा मान्छे मारिएकै छन नि ।
चरी मृत्युको वारेमा छानविन गर्दा अन्य थुप्रै घटनाको छानविनको वाटो पनि खुल्छ । दिनेश अधिकारी उर्फ ूचरीू एमाले भएको भनेकाले अहिले माओवादीहरु यस घटनालाइ लिएर एमालेको वदनाम गर्न सकिन्छ कि भन्ने खेलमा लागेको छन् । वालकृष्ण ढुंगेल जस्ता प्रमाणित हत्याराहरुलार्इ कानुनको कठघरामा ल्याउनु हुँदैन भन्नेहरु अहिले दिनेश अधिकारीको मृत्युसँग एमालेलार्इ जोडेर वदनाम गर्ने हिसावले अभिव्यक्ति दिंदै छन । एमालेले यसलाई चुनौतिको रुपमा लिनुपर्छ र भन्न सक्नुपर्छ कि हामी मृत्यु भैसकेका चरी वा जीवित अन्य जोसुकैको वारेमा छानविन गर्न राज्यलार्इ सहयोग गर्न तयार छौं र त्यस्तै हिम्मत अरुलार्इ पनि देखाउन अनुरोध गर्न चाहन्छौं । जव त्यसो हुन्छ तब मुलुकको गृहमन्त्रीले हत्या, अपहरण जस्ता गम्भीर आरोप लागेका वा प्रमाणित भएकाहरुलाई खोजतलास गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको विशेष टोली खटाउनुपर्छ । त्यसो गर्दा को को समातिएलान भन्ने चिन्ता गर्नु हुँदैन किनकी त्यसरी जोसुकै समातिए पनि त्यसले मुलुकको हितनै गर्छ र थुप्रै अरु चरीहरु जन्मने र मर्ने खेल वन्द हुन्छ ।
अव छानविन कसरी गर्ने ? भन्ने विषयमा पनि सवै प्रष्ट हुनुपर्छ । आग्रह वा पूर्वाग्रह बोकेर कुनै घटनाको छानविन हुन सक्दैन । एकातिर प्रहरीले सुनियोजित ढंगले चरीलाई मारेको हो भन्ने निष्कर्ष पहिलानै निकाल्नेहरुले पनि छानविनलार्इ सहि टुङ्गो दिनै सक्दैनन् अर्कोतर्फ गुण्डा मरेको बारेमा पनि के छानविन ? भन्ने चिन्तन वोकेर पनि छानविनलार्इ सही निष्कर्षमा पुर्याउन सकिदैन । यस घटनाको छानविनको निम्ति गैरराजनतिक व्यक्तिहरु सम्मिलित आयोग बन्नुपर्छ, पहिला जस्तो गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा आयोग वन्ने त्यसमा प्रहरीका एक जना प्रतिनिधि राख्ने काम पनि गरिनु हुँदैन । फरेन्सिक साइन्सका ज्ञाता, कानुनी क्षेत्रका विज्ञ, सुरक्षा निकाय वुझेका तर त्यहाँको चास्नी नचाटने सुरक्षा निकायमा काम गरेर अनुसन्धानमा राम्रो दक्खल राख्ने परिचय वनाएका पुर्व प्रहरी अधिकृत, पत्रकार समेतको सहभागितामा छानविन आयोग वनाउनुपर्छ ।
छानविन समितिलाइ स्पष्ट कार्यभार तोक्नुपर्छ र त्यो सार्वजनिक गर्नुपर्छ । उनीहरुलाइ दिनेश अधिकारीको विगत र त्यसले घटनामा खेलेको हुनसक्ने भूमिकाको अध्ययन गर्न सक्ने अधिकार समेत दिनुपर्छ । सबैभन्दा मुख्य कुरा छानविन समिति वा आयोग जे बनाए पनि त्यो तत्काल उठेको आक्रोश वा उत्तेजना शान्त पार्ने औजार मात्रै बन्नु हुँदैन । त्यसले गरेका छानविन जनताले थाहा पाउनुपर्छ भने त्यसका सिफारिसहरु तत्काल कार्यान्यवन हुनुपर्छ ।
गृहमन्त्री बामदेव गौतमज्यू, तपाईं नेकपा एमालेको भर्खरै सम्पन्न माहाधिवेशनबाट निर्वाचित भएको उपाध्यक्ष भएको नाताले पार्टीप्रति पक्कै जिम्मेवार हुनुहुन्छ र नेपाल सरकारको गृहमन्त्री हुनुको नाताले समग्र आन्तरिक सुरक्षा अंगको अभिभावक समेत हुनुहुन्छ । अपराधसंग साइनो जोडिएका अनि राजनीतिक निकतताको हिसावले एमाले निकट भनिएका दिनेश अधिकारी अर्थात् चरीको मृत्यु भएको छ प्रहरीको गोलीबाट । एकातिर पार्टीको कार्यकर्ता र समर्थक मरेका छन भने अर्कोतर्फ उनलाइ गोली हान्ने नियतमा प्रश्न उठाइएको छ, दुवैप्रति यहाँको जिम्मेवारी छ । तर त्यो भन्दा ठूलो जिम्मेवारी भनेको राष्ट्रप्रतिको जिम्मेवारी हो । तसर्थ यहाँले तुरुन्त एउटा शक्तिशालि छानविन आयोग वनाउनुपर्छ । त्यो आयोग वनाउँदा यहाँले एउटा प्रण गर्नैपर्छ, त्यो के भने छानविनको जे प्रतिवेदन आउँछ त्यसको रक्षा र कार्यान्वयन यहाँको दायित्व हुन्छ । यदि दिनेश अधिकारीले प्रहरीलार्इ गोली चलाएका रहेछन र उनको प्रतिकार प्रहरीले गरेको रहेछ भने संलग्न प्रहरीलाइ पुरष्कृत गर्न यहाँले सहास गर्नुपर्छ र यदि हैन उनलाई सुनियोजित ढंगले मारिएको रहेछ र प्रहरीले भनेको एउटा र गरेको अर्कैरहेछ भने संलग्न सवैलार्इ एकसाथ कारवाही गर्न पनि सक्नुपर्छ । आखिर जे नै गर्न पनि छानविन त हुनैपर्छ ।














प्रतिक्रिया