सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

इराकमा हवाई आक्रमण गर्न ओबामाको आदेश

दैनिक नेपाल २०७१ साउन २३ गते २०:०४

Barak Obama

अरबिल (इराक), २३ साउन । इराकमा जिहादीलाई स्वायत्त कुर्दिस्तानमा प्रवेश गरी विस्थापित अल्पसंख्यकको सम्भावित जाति–हत्या गर्न नदिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी युद्धकविमानलाई इराकी आकाशमा फिर्ता जान आदेश दिएका छन् ।

इस्लामिक स्टेट समूहले इराकको सबैभन्दा ठूलो बाँध नियन्त्रणमा लिएपछि अमेरिकाको संलग्नताको घोषणा भएको हो । इराकमा दुई महिनादेखि देखिएको संकटमा यसलाई सबैभन्दा महत्वपूर्ण विकासको रूपमा लिइएको छ । सुन्नी कट्टरपन्थी लडाकूबाट बच्न उत्तरी रुखो पहाडी भागमा लुकेर बसेका हजारौं व्यक्तिलाई आहार तथा पानी खसाउन अमेरिकी युद्धक–विमानहरूको समूहको पहिलो अभियान हुनेछ ।

आठ वर्षसम्म अमेरिकी नियन्त्रण अन्त्य भएको तीन वर्षपछि ओबामाले बिहीबार राति इस्लामी स्टेट समूहमाथि सीमित हवाई आक्रमणको अधिकार दिइएको घोषणा गरेका हुन् । याजिदीहरू कुनै पनि आपूर्तिको सम्भावना नलिएरै गत पाँच दिनदेखि सिनजार पहाडी भागमा लुकेर बसेका छन् । यसका समर्थकहरूको आस्था चार हजार वर्ष पुरानो छ ।

आईएसले याजिदीलाई ‘सैतानको भक्त’ रूपमा हेरेको छ र अमेरिकी राष्ट्रपति ओबामाले उनीहरूले यी अल्पसंख्यकलाई प्रणालीगत रूपमा नष्ट गर्न खोजेको आरोप लगाएका छन् । यसको अर्थ जातिहत्या हुन्छ ।

जिहादीहरूले वासिङ्टनको कुर्दिस सहयोगीलाई चेतावनी दिएकाले पनि उनीहरूमाथि सम्भावित हवाई आक्रमण सही भएको राष्ट्रपति ओबामाले बताएका छन् । उनले इराकमा अमेरिकी कुनै पनि संस्थालाई चुनौती भए आफूहरू सतर्क रहने र कारबाही गर्ने बताए । यी संस्थामा अर्बिलमा रहेको वाणिज्य दूतावास तथा बग्दादमा रहेको दूतावास पनि पर्छन् ।

इस्लामिक जिहादी इराकमा क्रिस्चियनहरूको प्रमुख बसोबास स्थलबाट फर्केका छन् । उनीहरू त्यहाँ पुग्दा ठूलो संख्या क्रिस्चियनहरू पलायन भएका थिए भने यसबाट पश्चिमी शक्तिहरू कारबाहीका लागि बाध्य भएका छन् ।

फ्रान्सले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको छ । यसले पनि जिहादीसँग युद्ध गर्न सघाउने बताएको छ ।

क्लाडियन प्याट्रिआर्क लुइस साकोले इराकको सबैभन्दा ठूलो क्रिस्चियन नगर काराकोस रित्तो भएको र करिब एक लाख क्रिस्चियनले आफ्नो घर परित्याग गरेको जानकारी दिए । जिहादीहरूले त्यहाँको मोसुल बाँधलाई आफ्नो नियन्त्रणमा लिएका छन् । यसले उनीहरूलाई त्यहाँको ठूलो क्षेत्रमा जीवन तथा मृत्युको शक्ति प्राप्त भएको देखिएको छ ।

कुर्दिस तथा स्थानीय अधिकारीहरूले जिहादीहरूले बिहीबार उक्त बाँध आफ्नो नियन्त्रणमा लिएको र त्यहाँ कुनै पनि अवैज्ञानिक कार्य भएमा त्यसले प्रकोपयुक्त प्रभाव निम्त्याउन सक्ने बताएका छन् ।

सन् २००७ मा इराकी सरकारलाई एक पत्र लेख्दै अमेरिकी अधिकारीले मोसुलको बाँधले टिग्रिस नदीमा बाढी आउने र त्यसले बग्दादलाई पनि प्रभावित बनाउनसक्ने जानकारी दिएका थिए । आईएसले बाँधहरूलाई पहिले पनि हतियारका रूपमा लिएका छन् । यसले जिहादीहरूले आफ्नो राज्य बनाउन चाहेको स्थानमा पानी तथा विद्युत आपूर्ति गर्छ ।

इराकको दोस्रो ठूलो नगर मोसुलका मस्जिदहरूमा एकै प्रकारको प्रार्थना गरिएको छ र यहाँका बासिन्दालाई अबु बाक्र अल–बागदादीप्रति समर्थनको सपथग्रहण गर्न भनिएको छ । एक साताअघि सिनजार क्षेत्र छोडेका याजिदीहरू हाल कुर्दिस्तान आइपुगेका छन् ।

अमेरिकी एक वरिष्ठ अधिकारीले पहाडी क्षेत्रमा अझै भौतारिएकालाई खाना तथा पानी खसाउने काम आरम्भ भएको बताए । अर्का अधिकारीले अमेरिकी विमानले थप सहयोग उपलब्ध गराउन सक्ने र ओबामाले उनीहरूलाई इराकी सेनालाई युद्धमा सहयोग गर्न आवश्यक परेमा लक्षित हवाई आक्रमण गर्न आदेश दिएको बताए । एएफपी

 

प्रतिक्रिया
सम्बन्धित