शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

एन्फाका कर्मचारी र प्रशिक्षकको तलब वृद्धि

दैनिक नेपाल २०७१ साउन २१ गते ७:११

Ganesh-Thapaकाठमाडौं, २१ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाका कर्मचारी र प्रशिक्षकको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फाको कार्य समितिको बैठकले वार्षिक तालिका सार्वजनिक गर्दै तलव वृद्धि गर्ने निर्णय गरेको हो ।

जिल्लाका प्रशिक्षकको पाँच हजार रहेको मासिक तलब बढाई सात हजार तथा क्षेत्रीय प्रशिक्षकको सात हजार रहेको तलब बढाएर १५ हजार पुराइएको छ । कर्मचारीको भने १५ प्रतिशतले वृद्धि गरिएको एन्फा अध्यक्ष गणेश थापाले जानकारी दिए ।

यस वर्षको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी भदौ १० देखि २१ गतेसम्म र एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता भदौ ३० देखि असोज १३ गतेसम्म नेपालगन्जमा सञ्चालन गरिने छ ।

त्यस्तै राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगिता कात्तिक २१ देखि, महिला लिग फुटबल मङ्सिर १५ र एनसेल फुटबल चैतमा सञ्चालन हुनेछ ।

कात्तिकमा पाकिस्तानमा हुने महिला साफ च्याम्पियनसिपमा पनि राष्ट्रिय महिला टोलीले सहभागिता जनाउने छ ।

अध्यक्ष थापाले गत वर्ष भएको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सरस्वती युवा क्लबले चित्त बुझदो जवाफ नदिए एक वर्षका लागि प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको बताए ।

चारै क्लबले प्रतियोगितामा आआफनो क्लबले तयारी खर्च र पुरस्कारको रकम नपाएको भन्दै गत वैशाखदेखि एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरेका थिए ।

त्यसैगरी सोह्र देखि १९ वर्ष उमेर समूहको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकका रूपमा बालगोपाल महर्जनलाई जिम्मा दिने निर्णय एन्फाले गरेको छ ।

एन्फाको आर्थिक पक्षलाई सबल र सुदृढ बनाउनका लागि पहिलो पटक प्रकाश पङ्गेनीको संयोजकत्वमा कार्यसमिति गठन गर्ने निर्णयसमेत गरिएको थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित