२८ आश्विन २०८३, बुधबार

कालीगण्डकीको किनारमा नुनखानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaligandai-nunkhani

बेनी (म्याग्दी), २० साउन । जिल्लाको शिख गाविसस्थित पाउद्वारमा नुनिलो पानीको मुहान फेला परेको छ ।

कालीगण्डकी नदीनजिकै मुहान भेटिएपछि नुनखानी भएको अनुमान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरिएको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले बताउनुभयो ।

‘‘तातोपानीसँगै नुनसमेत देखिएको छ’’–उहाँले भन्नुभयो–‘‘पानीको स्वाद नुन हालेको जस्तो भएकाले पनि खानी तथा भूगर्भ विभागमार्फत अनुसन्धान सुरु गरिएको छ ।’’ करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुन जस्तै पदार्थ देखिएको छ ।

कालीगण्डकी नदीको किनारमा दुई वर्षअगाडि फेला परेको तातोपानीलाई संरक्षण गर्ने क्रममा डोजरको सहायताले स्नानका लागि कुण्ड बनाउने क्रममा नुनको खानी फेला परेको स्थानीय समाजसेवी बागवीर पाइजाले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘‘उत्खननका लागि नमुना पठाइसकेका छौँ ।’’ नुनखानी उत्खनन गर्न आवश्यक सहयोगका लागि स्थानीयले सरोकारवालासँग सहयोग मागेपछि स्थलगत अवलोकनमा गएको एक टोलीले अन्य क्षेत्रमा रहेका तातोपानीभन्दा स्वाद फरक रहेकाले पनि यसको अनुसन्धान आवश्यक रहेको बताएका थिए ।

पूर्व सभासद् गोविन्द पौडेलले खानी भएका क्षेत्रको संरक्षण गर्ने दायित्व राज्यको भएकाले प्राथमिकतामा राख्न आवश्यक छ भन्नुभयो ।

मुहान देखिएपछि जिविस, गाविस तथा स्थानीयले श्रमदान गरी मुहानलाई व्यवस्थित गरिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयोे–‘‘यसलाई संरक्षण गर्ने अभियान नै सुरु गरेका छौं।’’ अहिले तातोपानीमा मुस्ताङ भ्रमण गर्न गएका पर्यटकले स्नान गर्ने गरेका छन् ।

अनुसन्धानबाट नुनखानीका रुपमा पुष्टि भएपछि यो ठाउँलाई प्राकृतिक उपचार केन्द्रकै रुपमा विकास गर्न योजनासमेत बनाइएको छ । जिल्लामा करिब आधा दर्जनभन्दा बढी तातोपानीका मुहान रहेका छन् । रासस