काठमाडौं, १९ साउन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई स्थायी समितिबाट बर्खास्त गरिएको छ ।
एमाओवादी स्थायी समितिको सोमबार साँझ बसेको बैठकले भट्टराईलाई कारबाही गरेको हो । भट्टराईसँग उनी पक्षीय नेता टोपबहादुर रायमाझीलाई पनि सचिवबाट हटाइएको छ । यसैगरी, बाबुराम पक्षकै पोलिटव्युरो सदस्य गंगानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई पनि निलम्बन गरेको स्थायी समिति सदस्य गोपाल किराँतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, स्थायी समिति बैठकमा भाग लिन सचेत गर्दै भट्टराई र रायमाझीलाई कारवाही गरिएको हो । स्थायी समिति बैठकमा विना सूचना निरन्तर तीनपटक अनुपस्थित भएका कारण विधानतः उनीहरुलाई हटाइएको किराँतीको दाबी छ ।
नेता श्रेष्ठ र यादवलाई भने समानान्तर कमिटी बनाइ पार्टीको एकता भंग गर्न खोजेको अभियोगमा निलम्बन गरिएको हो । पार्टीको आठबुँदे आचारसंहिता उल्लंघन गर्दै धनुषामा समानान्तर कमिटी बनाएको पोलिटब्यूरो सदस्य श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई निलम्बन गर्ने निर्णय गरेको किराँतीले जानकारी दिनुभयो ।
पोलिटव्युरो सदस्य श्रेष्ठले गत जेठमा सम्पन्न केन्द्रीय समिति बैठकपछि समानान्तर कार्यविभाजन र प्रमुख अतिथि बनेर धनुषामा समानान्तर समिति बनाएको आरोप लागेको छ । उनलाई तीन महिनासम्म पोलिटब्यूरो र केन्द्रीय समिति सदस्य नरहने गरी निलम्बन गरिएको हो ।
धनुषाकै समानान्तर कमिटी गठनमा विशेष अतिथि बनेका रामरिझनलाई भने एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बित भएका छन् ।
पार्टीको विवाद मिलाउन आयोजना गरिएको एमाओवादीको विराटनगर सम्मेलनले झनै किचलो सिर्जना गरिदिएको छ । बिराटनगर सम्मेलनपछि भट्टराई पक्ष केन्द्रीय समितिमा मात्र बसेको छ । तर,पदाधिकारीसहित स्थायी र पोलिटब्युरो गठनमा सहभागी नहुँदा समेत प्रचण्डले उनीहरुलाई जिताइदिएका थिए ।
वरिष्ठ नेता भट्टराईले नयाँ शक्ति बनाउने उदघोष तथा भेला र तयारी गरिरहेको बेला यो कारबाहीले एमाओवादी भित्रको कलहमा थप बल पुग्ने देखिएको छ ।
कारबाहीमा परेपछि प्रतिक्रिया दिँदै पोलिटव्युरो सदस्य गंगानारायण श्रेष्ठले भने पार्टीको भित्रको विवाद मिलाउन विवाद समाधान समिति र बहस चलाउन राजनीतिक व्यवस्थापन समिति बनेको बेला कारवाहीको विषय बनाउन नहुने बताएका छन् ।
यो पनि पढ्नुहोस:
















प्रतिक्रिया