दार्चुला, १९ साउन । गत जेठ महिनादेखि ठप्प भएको निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य दुई महिना बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन ।
निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप अफ पावर कम्पनी सिजिजिसीले सम्झौताअनुसार नेपाल विद्युत् प्राधिकरणले समयमा भुक्तानी नगरेको भन्दै दुई महिना अगाडिदेखि अनिश्चितकालीन निर्माण कार्य ठप्प पारेको हो ।
निर्माण बन्द हुँदा कोरियन कम्पनीको इलेक्ट्रो मेकानिकल कार्यसमेत प्रभावित बनेको छ । चिनियाँ कम्पनी सिजिजिसीले करिब साढे चार किलोमिटर सुरुङ निर्माणलगायतको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको चमेलिया जलविद्युत् आयोजनाले जनाएको छ ।
करिब १३ अर्ब रुपैंयाको लागतमा निर्माण भइरहेको आयोजनाको सन् २००७ मा निर्माण कार्य सुरु भई डिसेम्बर २०११ सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर विविध कारणले तोकिएको समयभित्र आयोजना सम्पन्न हुन नसक्दा पटकपटक म्याद थप हुँदै आइरहेको छ ।
पछिलो समय मार्च २०१५ सम्म आयोजना सम्पन्न गर्ने गरी म्याद थप भएको छ । तर निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला चिनियाँ कम्पनीले गरेको बन्दले निर्धारित समयभित्र आयोजना सम्पन्न हुनेमा शङ्का उब्जाएको छ ।
आयोजना प्रमुख राजेन्द्र मानन्धरले चिनियाँ कम्पनीसँग वार्ता भइरहेको तथा मार्च २०१५ सम्म आयोजना सम्पन्न गर्ने गरी भएको सम्झौताअनुसार सिजिजिसीले निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभयो । ३० मेगावाट क्षमताको निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना सुदूरपश्चिमकै पहिलो ठूलो जलविद्युत् आयोजना हो ।














प्रतिक्रिया