सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

युद्ध विराम भङ्ग भएपछि गाजामा रक्तपात

दैनिक नेपाल २०७१ साउन १७ गते १७:२४

hamase-1

गाजा नगर (प्यालेस्टाइन क्षेत्र), १७ साउन । संयुक्त राष्ट्र सङ्घ तथा अमेरिकी सरकारको सहयोगमा लागुभएको युद्ध विराम भङ्ग भएपछि गाजामा हिंसाको लहर फैलिएको छ र दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । यसबीच हमासले इजरायली सैनिक अपहरण नगरेको दाबी गरेको छ ।

दीर्घकालीन युद्धविरामका सर्तका विषयमा कायरोमा वार्ता गर्न प्यालेस्टाइनी पक्ष त्यसतर्फ प्रस्थान गरेका छन् । शुक्रबार ७२ घण्टे मानवीय युद्धविराम घोषणा भएको केही घण्टामै भङ्गभएको छ ।
इजरायलले आफ्नो सेकेन्ड लेफ्टिनेन्ट, २३ वर्षीय हाडर गोल्डिनलाई लडाकूले गाजा नगरको दक्षिणी भाग रफामा अपहरण गरेको आरोप लगाएको छ । लडाकू समूहले इजरायली दुई सैनिकको हत्या गरेका छन् ।

गाजा क्षेत्रमा इजरायलले गरेको हवाइ आक्रमणका कारण १०७ व्यक्तिको मृत्यु भएको छ भने मध्यरातपछि नै ३५ व्यक्तिको मृत्युभएको छ । यसरी हिंसा फैलिएको छ ।

इजरायलको सुरक्षा परिषद्का सदस्य न्यायमन्त्री जिपी लिभ्नीले हमासले सैनिक अपहरण गरेको आरोप लगाउनुभयो र उहाँले उनीहरूले यसको मूल्य चुकाउनुपर्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली सैनिकको निसर्त रिहाका लागि आग्रह गर्नुभएको छ । उहाँले गाजाका नागरिकलाई सुरक्षित बनाउन थप कार्य गर्नुपर्ने बताउनुभएको छ ।

हमासको सशस्त्र समूहले हराएका सैनिकको अवस्थाका बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरेको छ ।

एजेदिन अल–कसाम ब्रिगेडलाई सैनिकका बारेमा कुनै जानकारी नभएको, आफूहरूको एक लडाकू समूहसँग सम्पर्क टुटेको र उक्त समूह सैनिक हराएको स्थानमा सङ्घर्षरत रहेको र उनीहरूले आफ्ना लडाकू तथा उनीहरूको सेना मारेको हुनसक्ने यस समूहले जानकारी दिएको छ ।

एएफपीका समाचारदाताले इजरायली हवाई आक्रमण जेबालिया मस्जिदमा लक्षित भएको बताएका छन् । यसले त्यहाँ नजिकै रहेका घरहरूलाई क्षति पु¥याएको बताइएको छ ।

इजरायलको आइरन डोम हवाई प्रतिरक्षा प्रणालीले गाजाबाट प्रहार गरिएको दुई रकेट पत्ता लगाएको छ ।
कसाम ब्रिगेड्सले आफूहरूले तीन रकेट तेल–अभिभमा प्रहार गरेको बताएको छ ।

यसबीच अमेरिकी संसदले इजरायललाई क्षेप्यास्त्र पत्ता लगाउने आइन डोम प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आपत्कालिन २२ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । यसमा राष्ट्रपति बाराक ओबामाको हस्ताक्षर प्राप्त गर्न बाँकी छ ।

प्यालेस्टाइनी आपत्कालिन सेवाका प्रवत्ता अस्रफ अल–कद्रले तीन दिने युद्धविराम भङ्ग भएपछि कम्तीमा १०७ प्यालेस्टाइनीको मृत्युभएको जानकारी दिएका छन् ।

जुलाइ ८ मा यो सङ्घर्ष आरम्भ भएपछि हालसम्म एक हजार ६५० प्यालेस्टाइनी नागरिकको मृत्युभएको र त्यसमा ठूलो सङ्ख्यामा सामान्य नागरिक परेको कद्रले बताए ।

इजरायली पक्षमा ६३ सैनिक तथा तीन नागरिकको मृत्युभएको बताइएको छ ।

इजरायली नागरिक आफ्ना सैनिकको अपहरण गरेको कुराप्रति निकै संवेदनशील रहने गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामालेले दुई सैनिकको हत्या गर्ने तथा युद्धविरामको घोषणा भएपछि पनि तेस्रो सैनिकको अपहरण गर्ने हमास तथा प्यालेस्टाइनी समूहको भत्र्सना गर्नुभएको छ ।

उहाँले अपहरणकारीले समस्याको समाधान खोजेको हो भने उनीहरूले यी सैनिकलाई विनासर्त सकेसम्म छिटो रिहा गर्नुपर्ने बताउनुभयो ।

अमेरिकी विदेशमन्त्री जोन केरीले युद्धविराम लागु भएपछि इजरायली तथा हमास सहितका प्यालेस्टाइनी प्रतिनिधिहरूले कायरोमा थप दिगो युद्धविरामका लागि छलफल गर्ने बताउनुभयो ।

इजरायली सैनिक हराएपछि प्यालेस्टाइनी लडाकू समूह इस्लामी जिहादले इजिप्टले वार्ता स्थगन गरेको दाबी गरेको छ । काइरोले भने वार्ताका लागि आमन्त्रण कायमै रहेको जानकारी दिएको छ ।
प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले युद्ध निरन्तर रहे पनि हमास तथा इस्लामिक जिहादका एक संयुक्त प्रतिनिधि काइरोमा वार्ताका लागि जाने बताउनुभयो ।

युद्धबिराम हुनुअगाडि नै इजरायली ट्याङ्कले गाजामा हवाई बम आक्रमण गरेको थियो र सेनाले संयुक्त सीमामा एक मोर्टार आक्रमणका कारण पाँच सैनिकको मृत्युभएको जानकारी दिएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हमास तथा गाजाका अन्य लडाकूले हिंसा भड्काइरहेको आरोप लगाएको छ ।

हमासले भने इजरायलले युद्धविराम उल्लङ्घन गरेको र प्यालेस्टाइनी प्रतिरोध आत्मरक्षाको अधिकारमा आधारित रहेको बताएका छन् ।
इजरायलले गाजाबाट प्रहार भएका रकेट आक्रमणको बदलामा जुलाइ ८ मा अपरेसन प्रोटेक्टिभ एज आरम्भ गरेको हो । यसको नौ दिनपछि उसको स्थल सैनिकले लडाकूले इजरायलको क्षेत्रमा आक्रमण गर्न तयार गरेको सुरुङ नष्ट गरिदिएको छ । रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित