२८ आश्विन २०८३, बुधबार

मन्त्री र सदस्य सचिवको जुहारीले एसियाडमा नेपालको सहभागिता अन्यौल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yubraj-lama-purushottam-paudel

काठमाडौँ, १४ साउन । खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र सदस्य सचिव युवराज लामाबीचको टकरावले दक्षिण कोरियामा हुन लागेको १७ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालको तयारी नै अन्यौलमा परेको छ ।

राजनीतिक तालमेल नमिल्दा दुवै जनाले एसियाडको लागि आ–आफ्नै तरिकाले प्रतियोगिता तयारी समिति गठन गरेपछि नेपालले एसियाडमा भाग लिने हो वा होइन भन्ने अन्यौलता खेलाडीमाझ उब्जिएको हो ।

यता, उद्योगमन्त्री कर्णबहादुर थापाले भने एसियाडका लागि ढुक्क भएर तयारी गर्न विभिन्न खेलकुद संघलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय साहसिक खेलकुद संघद्वारा आयोजित ‘नेपाली खेलकुद समस्या र समाधान’ विषयक अन्तक्र्रियामा उहाँले एसियाड राष्ट्रको पहिचान भएको भन्दै खेलाडीलाई ढुक्क भएर आ–आफ्नो तयारीमा जुट्न आग्रह गर्नुभयो ।

मन्त्री थापाले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि तोकिएको समयमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले आ–आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागी राज्यको ऐन नियमको दायराभित्र रहेर खेलकुद क्षेत्रभित्र भएका समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आर्थिक वर्ष २०७१ / ७२ को सरकारी नीति तथा कार्यक्रममा बजेट विनियोजन नभएपछि प्रतियोगिताको तयारीमा आशङ्का जन्मिएको छ ।

राखेपका सदस्यसचिव युवराज लामाले खेलकुद क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सबै राजनीतिक दलले पार्टीभित्र बहस चलाउनुपर्ने बताउनुभयो ।

उहाँले खेलकुदमन्त्रीसँग भएको भेटघाट सकारात्मक भएको जानकारी दिनुभयो । केही दिनभित्रै बोर्ड बैठक डाक्ने विषयमा सहमति भएको भन्दै सदस्यसचिव लामाले एसियाडका लागि पदक जित्ने सम्भावना बोकेको खेललाई प्राथमिकता दिने बताउनुभयो ।

ओलम्पिक कमिटीमा खेलाडीभन्दा बढी पदाधिकारी जाने परम्परालाई रोक्नुपर्ने र खेलाडीले खेल खेलेबापत पाउने पारिश्रमिक हिनामिना हुन नहुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले एसियाड प्रतियोगिताका लागि खेलकुदमन्त्री र सदस्य सचिव दुवैले ऐन नियमको दायरामा रहेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय खेलकुद संघका अध्यक्ष लोकबहादुर शाहीले खेलकुद क्षेत्रको विकास र विस्तारको अभियानमा कसैले पनि राजनीतीकरण गर्न नहुने बताउनुभयो ।