मनिला, १२ साउन । फिलिपिन्समा जारी रहेको हिंसाका क्रममा सोमबार एम्बुसमा पारी कम्तीमा पनि १६ जना सर्वसाधारणको हत्या गरिएको समाचार छ ।
प्राप्त समाचारअनुसार सोमाबर बिहानै त्यहाँका सशस्त्र हतियारधारीहरुले विद्युतीय धरापमा पारेर ती १६ जना सर्वसाधारणको ज्यान लिएका हुन् ।
फिलिपिन्सको तालिपो नामक सहमा हतियारधारीहरुले सोमबार बिहान एम्बुसमा पारेर र त्यसमा परेका नागरिकलाई पुनः गोली हानेर ती नागरिकको ज्यान लिएका सैनिक स्रोतले जनाएको छ ।
मारिनेमा बालबालिका र महिला पनि परेका छन् । सो सहरमा गस्तीमा रहेका प्रहरीलाई सो एम्बुसमा पार्न खोजिएको अनुमान गरिएको छ ।
तरपनि एम्बुसमा परी ती प्रहरीको ज्यान गए नगएको बारेमा भने सैनिकले केही बताएको छैन । त्यस क्रममा मारिएका नागरिक सर्वसाधारण रहेका पनि बताइएको छ ।
उक्त हत्या अबु सैयब नामक विद्रोही समूहले गरेको बताइएको छ । उक्त विद्रोही समूह सन् १९९० मा स्थापना भएको हो ।
फिलिपिन्समा सशस्त्र विद्रोह गरिरहेको उक्त समूहलाई विश्व आतङ्ककारी सञ्जाल अल कायदाको सहयोग रहेको बताइन्छ ।
सोही सञ्जालको आर्थिक सहयोगमा सन् १९९० मा फिलिपिन्समा सो संस्थाको स्थापना भएको हो । त्यसपछि हालैका दिनमा सो संस्थाले आतङ्क मच्चाइरहेको बताइएको छ । रासस/एएफपी














प्रतिक्रिया