२८ आश्विन २०८३, बुधबार

वीरगञ्जमा एक करोडभन्दा बढी मूल्यको चुरा र मेहन्दीकोे कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chura-mahandiवीरगन्ज, ८ साउन । जेठ र असारको बिहेवारीको लगनका बेलासमेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ ।

साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएपछि यसको व्यापार फस्टाएको हो । हिजोआज वीरगन्जको माईस्थान र मीनाबजारमा हरियो चुरा र मेहन्दी किन्ने महिलाको भिड देख्न सकिन्छ ।

साउन महिनामा प्रायः सबै विवाहित महिलाले हातभरि हरियो, पहेंलो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएको छ । चुरा ‘सुहागको निसानी’ हो भन्ने धारणा अधिकांश महिलाको छ । तर आजभोलि सुहागिन महिलामात्र होइन, अविवाहित केटीहरूले पनि सुन्दर र राम्रो श्रीमान् प्राप्त होस् भन्ने चाहनाका साथ साउन महिनामा हरियो र पहेंलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ । त्यसैले साउनमा चुराको माग उच्च हुन्छ ।

‘अहिले दैनिक रु छ÷सात हजारको चुरा बिक्री हुने गरेको छ,’ विगत लामो समयसम्म माईस्थानमा चुरा व्यवसाय गर्दै आएका असरफ अलीले भन्नुभयो – ‘साउनमा सबैले हरियो चुरा र मेहन्दी खोज्ने हुनाले सबैभन्दा बढी यसकोे व्यापार यही बेला हुन्छ ।’

नेपाली परम्पराअनुसार साउनमा हरियो चुरा र मेहन्दी लगाउनाले लोग्नेको आयु बढ्ने र लोग्नेले बढी माया गर्ने विश्वास छ ।

‘दुईतीन वर्ष यतादेखि साउनमा हरियो चुरा र मेहन्दी लगाउने चलन ह्वातै बढेको छ,’ लामो समयदेखि कर्मकाण्ड गर्दै आएका पुरेतबाजे हरेकान्त झा भन्नुहुन्छ – ‘साउनमा पहिले यस्तो तामझाम हुदैन्थ्यो, हिन्दु धर्मअनुसार विवाहितहरूले मात्र चुरा लगाउँथे, मेहन्दी लगाउने चलन त पूरै भारतीय संस्कृतिको प्रभाव हो ।’

बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । बजारमा अहिले रु २५ देखि ५०० सम्मको चुराको व्यापार भइरहेको छ ।

वीरगन्जको मिनाबजार, आदर्शनगर, गहवा माईस्थान र श्रीपुरलगायतका प्रमुख बजारमा चुराका यस्ता थुप्रै पसलमा यतिबेला ग्राहकको भिडभाड हुने गरेको देखिन्छ । कतिपयले सडकको पेटीमा राखेर पनि चुरा बेच्ने गरेको पाइन्छ ।

चुरा बजारको यथार्थ तथ्याङ्क उपलब्ध नभए पनि साउन महिनामा मात्र वीरगन्जमा झन्डै रु एक करोडभन्दा बढी मूल्यको चुरा र मेहन्दीकोे कारोबार हुने गरेको चुरा व्यवसायीहरू बताउँछन् ।

खुल्ला सिमाना भएका कारण वैध भन्दापनि अवैध तरिकाबाट भारतीय चुरा वीरगन्जमा भित्रिने गरेका छन् ।