बग्दाद, ८ साउन । बग्दादको उत्तरी भागमा रहेको एक कारागारबाट बिहीबार कैदीहरू स्थानान्तरण गर्ने क्रममा गईरहेको एक बसमा भएको आत्मघाती बम र बन्दुक आक्रमणमा कम्तीमा ६० व्यक्तिको मृत्यु भएको समाचार छ ।
उक्त आक्रमणको क्रममा सुरक्षाबल र आक्रमणकारीबीच झडप समेत भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सुरक्षा अधिकारीहरका अनुसार यस आक्रमणमा करिव ५० कैदी र एक प्रहरीको मृत्यु भएको छ ।
तर गृहमन्त्रालयका एक अधिकारीले विस्फोटक पदार्थको आक्रमण र गोली प्रहारबाट कैदी र सुरक्षाकमी गरी कम्तीमा ६० व्यक्तिको मृत्यु भएको एएफपीलाई जानकारी दिएका छन् ।
इराकको राजधानी बग्दाददेखि करिब २५ किलोमिटरमा टाढा रहेको यस इलाकाबाट करिब ६० कैदीलाई स्थानान्तरण गर्ने क्रममा भएको सो घटना कुन समूहले गराएको सो भने प्रस्ट भएको छैन ।
स्थानीय समयानुसार बिहीबार बिहान ४ बजे भएको यो आक्रमण संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनले प्रधानमन्त्री नुरी अल मलिकीसँग जिहादी आतङ्ककारी विरुद्ध अन्तर्राष्ट्रिय समूदायको प्रयास परिचालनसम्बन्धी वार्ता हुने भनिएको केही घण्टा अगाडि भएको छ ।
करिव एक वर्षअघि राजधानीको उत्तर भागमा रेहेको सोही कारागार ताजी र राजधानीदेखि पश्चिममा रहेको अर्को कारागार अबु घराइवमा भएको आतङ्ककारी आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको थियो ।
अधिकारीहरूका अनुसार सो समयमा ताजी जेलबाट कोही पनि कैदी भागेका थिएनन् भने अबु घराइबबाट ५०० कैदी भागेका थिए । रासस÷एएफपी














प्रतिक्रिया