वासिङ्टन, ४ साउन । पूर्वी युक्रेनको डोनेसेस्नजिक दुर्घटनाग्रस्त मलेसियाली विमानको दुर्घटनाको कारण पत्ता लगाउन गठित निष्पक्ष अन्तर्राष्ट्रिय टोलीलाई दुर्घटनास्थलसम्म निर्वाध रुपमा आवतजावत गर्न नदिइएकोमा अमेरिकाले गहिरो चिन्ता प्रकट गरेको छ ।
गत बिहीबार नेदरल्यान्डको राजधानी एम्सटरड्यामबाट मलेसियाको राजधानी क्वालालम्पुरतर्फ उडेको मलेसियन एयरलाइन्सको विमान पूर्वी युक्रेनको आकासमाथि उड्दै गर्दा अचानक विस्फोट भई त्यसमा चढेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको थियो ।
दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन अन्तर्राष्ट्रिय रुपमा विशेषज्ञहरूको एक टोली गठन गरिएको थियो ।
युक्रेनमा युद्धरत सशस्त्र विद्रोहीहरूले उक्त टोलीलाई दुर्घटनास्थलमा जान सुरुमा सहमती दिएपनि पछि लामो जाँचबुझ र अनेक झन्झट दिई अवरोध सृजना गरेकाले अमेरिकाले चिन्ता गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जेन साकीद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनास्थल छानविन टोलीका लागि सुरक्षित नभएको, दुर्घटनास्थलमा छरिएका शवहरू अन्यत्र हटाईएको, विमानका भग्नावशेष समेत अन्तै लगिएको तथ्य विभिन्न स्रोतबाट पुष्टी भएको हुँदा दुर्घटनाको कारण यकिन गर्न कठिनाइ हुने र तथ्य पुष्टी गर्ने प्रमाणहरू नष्ट गर्ने काम तीव्र रुपमा भइरहेकाले अमेरिका यस्ता कार्यको निन्दा गर्दछ ।’
पूर्वी युक्रेनका पृथकतावादी विद्रोहीहरूले दुर्घटनाग्रस्त सानो इलाकासम्म मात्र मुस्किलले जान दिएका र खोजी कार्य र छानविनका लागि ठूलो क्षेत्रमा प्रवेश गर्न बन्देज लगाइएका छन् ।
यसले गर्दा पूरा सत्यतथ्य प्रकाशनमा आउन नसकि दुर्घटनामा मृत्यु भएका परिवारउपर ठूलो अन्याय हुन जाने समेत प्रवक्ताले बताए ।
मलेसियाली सेवाको उडानमा एमएच १७ का २९८ यात्रु बोकेको उक्त विमानलाई आकासमा नै रकेट प्रहार गरी खसालिएकाले कोही पनि जीवित रहन पाएका थिएनन् ।
दुर्घटनाको छानविन गर्न विद्रोही तथा रुसले समेत सघाउने प्रतिवद्धता जाहेर गरेता पनि अवरोध खडा गरेकाले यसको अन्त्य हुनुपर्ने साकीले बताइन् ।
यस्तै रुसले आफूले गरेको प्रतिवद्धता पालना गर्न र विद्रोहीहरूलाई पनि पालना गर्न सार्वजनिक रुपमा रुसले आह्वान गर्नुपर्ने अमेरिकाको चाहाना भएको साकीको वक्तव्यमा उल्लेख गरिएको छ । – सिन्ह्वा













प्रतिक्रिया