किभ (युक्रेन), ३ साउन । भन्छन्— बाटो बिराएपछि जे पनि हुन सक्छ । कहिलेकाहीं नहुन पनि सक्छ । मलेसियन एयरलाइन्सका विमानका लागि बाटो बिराउनु नै सिद्धिनु बनेको छ ।
आफ्नो रुट छाडी अन्यत्र गएर बेपत्ता भएको एमएच ३७० विमान फेला परिनसक्दै उसैको एमएच १७ क्षेप्यास्त्र आक्रमणमा परेको छ । चार महिना १० दिनपछिको यस घटनामा पनि संयोग उही मिलेको छ— आफ्नो बाटो छाड्नु ।
नेदरल्यान्ड्सको आमस्र्टडमबाट क्वालालम्पुरतर्फ बिहीबार उडेको उक्त जहाजले पोल्यान्डको आकाशबाट निर्धारित सुरक्षित मार्ग बदलेको थियो । युक्रेनको युद्ध प्रभावित इलाकालाई दक्षिणबाट तर्काएर अघि बढ्नुपर्नेमा ऊ बीच पारेर गइरहेको थियो, जसलाई कट्न लाग्दा खसालिएको थियो ।
र, २ सय ९८ जना बोकेको विमान जमिनमा खसेर दनदनी बलेको थियो ।
युक्रेनले आफ्नो इलाकालाई उडान प्रतिबन्धित घोषणा गरेको छ । अन्य विमान सेवाहरूले पनि पूर्वी युक्रेनको मार्गमा नउड्ने गरी व्यवस्था मिलाएका छन् । त्यहाँ विद्रोहीको पकड छ । पृथकतावादी नियन्त्रित लुहान्स्क र डोनेसस बीचमा विमान खसालिएको थियो । उक्त क्षेत्रमा सरकारी सेनाको कारबाही पनि जारी छ ।
त्यसैले उनीहरूले एकअर्कालाई खसालेको आरोप लगाइरहेका छन् । घटनासँगै दुइटा प्रश्न उब्जिएका छन्—
१. विमान युक्रेन सरकारले खसाल्यो वा विद्रोहीले ?
२. सुरक्षित रुट छाडेर विमान प्रतिबन्धित इलाकामा किन गयो ?
रुसले विद्रोहीलाई संघर्षमा सहयोग गरिरहेको र विकसित हतियार उपलब्ध गराइरहेको युक्रेनको आरोप छ । ‘यसमा रुस जिम्मेवार छ, यसको अन्तर्राष्ट्रिय अपराध अदालतले छानबिन गर्नैपर्छ,’ युक्रेनी प्रधानमन्त्री आरसेनी यातसेन्युकले भने । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चाहिँ भनाइ छ, ‘जुन मुलुकको अन्तरिक्ष मार्गमा यो घटना भयो, उसैले यसको जिम्मेवारी लिनुपर्छ ।’ दुवै पक्षले निष्पक्ष अनुसन्धानको माग गरेका आजको कान्तिपुर दैनिकमा खबर छ ।
अनुसन्धानकर्ता पुगे
युक्रेन सरकार र विद्रोहीबीच जारी आरोप- प्रत्यारोपबीच अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको टोली वास्तविकता पत्ता लगाउन शुक्रबार राति दुर्घटनास्थल पुगेको छ । पूर्वी युक्रेनका रुसी समर्थित पृथकतावादीहरूले उक्त टोलीलाई त्यहाँ जान बल्ल-बल्ल अनुमति दिएका हुन् ।
विद्रोहीले उक्त स्थानको सुरक्षा गर्ने र शवलाई निकाल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । युरोपस्थित सुरक्षा तथा आपसी सहयोग संगठन (ओएससीई) को ३० सदस्यीय टोली अनुसन्धानमा खटेको हो ।
खसेको ठाउँबाट विमानको ब्ल्याक बक्स फ्लाइट रेकर्डर फेला परेको दाबी गरिएको छ । तर अधिकारीहरूले पुष्टि गरेका छैनन् ।
यो विपतलाई लिएर शुक्रबार राति राष्ट्रसंघीय सुरक्षा परिषद्को न्युयोर्कमा आकस्मिक बैठक जारी छ । दुर्घटनामा ज्यान गुमाउनेमा नेदरल्यान्ड्सका विश्व प्रख्यात शोधकर्ता जोयप लांगे पनि छन् । उनी अस्टे्रलियामा हुने अन्तर्राष्ट्रिय एड्स सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । सत्र वर्षदेखि उडानमा रहेको विमान सबै हिसाबले सही अवस्थामा रहेको एयरलाइन्सले जनाएको छ ।
ठट्टा साँचो भयो
दुर्घटना हुनु ठीकअघि नेदरल्यान्ड्सका कोर पानले फेसबुकमा गर्लफ्रेन्डसँगको तस्बिर पोस्ट गर्दै लेखेका थिए, ‘मलेसियन विमान बेपत्ता भएमा हामी यस्ता देखिने छौं ।’ उनी गर्लफ्रेन्ड निलज्तसँग बिदा मनाउन जाँदै थिए ।
मित्रहरूले उक्त जोडीलाई बिदाको शुभकामना दिइरहेका बेला फेसबुकको पृष्ठ समवेदनामा परिवर्तन भयो । अर्थात्, ठट्टा सत्यमा परिणत भयो ।
विमानमा १ सय ७३ नेदरल्यान्ड्सका नागरिक, २७ अस्टे्रलियाली, १५ कर्मचारीसहित ४४ मलेसियाली, १२ इन्डोनेसियाली र ९ बेलायती थिए । बाँकी अन्य विभिन्न देशका थिए । नेदरल्यान्ड्सले राष्ट्रिय शोक घोषणा गर्दै शुक्रबार आधा झन्डा झुकाएको छ ।














प्रतिक्रिया