काठमाडौँ, २ साउन । बैंक तथा वित्तीय संस्थामा अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा दुई पटकभन्दा बढी उक्त पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन नसक्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७१ / ७२ को मौद्रिक नीतिले लामो समयसम्म एकै व्यक्ति संस्थानको नेतृत्वमा बस्दा संस्थागत सुशासन कमजोर हुने भएकाले यसै आर्थिक वर्षलाई आधारमानी उक्त नीति लिएको गभर्नर डा युवराज खतिवडाले बताउनुभयो ।
उहाँले यदि कुनै पनि बैंक तथा वित्तीय संस्थाले नेतृत्व बारम्बार दोहो¥याएको भए आगामी आर्थिक वर्षभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउन अनुरोध गर्नुभयो ।
त्यसैगरी बैंकका लगानीकर्ता÷संस्थापक र व्यवसायी÷ऋणीबीचको भिन्नता कायम गरी वित्तीय सुशासन कायम गर्ने क्रममा कुनै बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले आफ्नो अधिकांश स्वामित्वको कम्पनी÷फर्मको लागि बैंक कर्जा लिन नपाउने व्यवस्था नीतिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेको अवस्थामा नयाँ शाखा खोल्ने, शाखा गाभ्ने / गाभिने तथा स्थानान्तरण गर्ने प्रक्रियालाई सरलीकरण गर्ने र ती संस्थाको संस्थापकको विभिन्न समूहमा वर्गीकरण हुने व्यवस्थाको अन्त्य गरी सबै संस्थापकलाई एकै समूहमा राख्ने नीति लिइएको छ ।














प्रतिक्रिया