२८ आश्विन २०८३, बुधबार

तेह्रथुमका अधिकांश सडक क्षतिग्रस्त, सवारी आवागमनमा समस्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

terathum-bazar

तेह्रथुम, १ साउन । लगातारको वर्षाका कारण तेह्रथुम जिल्लाभरका सदरमुकामसँग जोडिएका अधिकांश सडक क्षतिग्रस्त भएका छन् ।

जिल्ला सदरमुकाम जाने छथर, आट्ठराई र फेदाप क्षेत्रमा खनिएका ग्रामीण तथा कृषि सडक वर्षाले बगाएपछि क्षतिग्रस्त भएका हुन् । यसअघि निर्माण भइसकेका र निर्माणाधीन सबै सडक वर्षाले बगाउनुका साथै बाढीले खोतलेर ठूल्ठूला खाडल बनाएपछि ट्याक्टरसमेत सञ्चालन हुन सकेका छैनन् ।
गाउँका सडकमा एम्बुलेन्स जान नसक्दा बिरामीहरुलाई समेत सास्ती भएको छ ।

हिउँदका समयमा वर्षौं लगाएर खनेको सडक वर्षाले बगाएपछि गाउँका बासिन्दा वर्षाद्को समयमा सास्ती व्यहोर्न बाध्य भएका छन् । वर्षैपिच्छे काम नलाग्ने गरी सडक भत्किने गरेकाले सवारी आवागमनमा समस्या हुने गरेको छ ।

यातयातका साधन नचल्दा दैनिक उपभोग्य सामग्रीसमेत ग्रामीण बजार तथा गाउँघरमा अभाव हुन थालेका छन् । वर्षाको पानीले सडक हिलाम्मे भएकाले जिल्लाका ४० भन्दा बढी सडकमा एकैपटक सवारी आवागमन ठप्प भएको छ ।

वर्षाको भेलले बगाएका ती सडकमा चालु आर्थिक वर्षमा मात्रै करोडौँ रुपैयाँ खर्च भएको थियो । वातावरणीय प्रभाव अनुगमन मूल्याङ्कन नै नगरी नियम विपरीत डोजर र स्काभेटर लगाएर गाउ“गाउ“मा खनिएका धेरै सडक पहिरोमा परिणत भएका छन् ।

उपभोक्ता समितिहरूले बिनासर्वेक्षण निर्माण गरेका अधिकांश सडक वर्षासँगै ढुङ्गामुढा र खहरे भेलमात्र कुदिरहेको स्थानीय जनताहरूले आरोप लगाएका छन् । प्राविधिक सर्वेक्षणबिना गाउँमा खनिएका ग्रामीण र कृषि सडकको अवस्था झन् बिजोग भएको छ ।

गाउँमा कसले पहिला मोटर बाटो पु¥याउने भन्ने होडबाजीका साथ खनिएका सडक पहिरोमा परिणत हुने गरेका छन् । गाउँमा खनिएका तिनै मोटर बाटोमा वर्षाको भेल पसेर धेरै किसानको खेतबारी बगाइरहेको छ ।

वर्षाको समयमा सडकले किसानलाई फाइदा होइन, बेफाइदा धेरै भएको सिद्धकाली उच्चमावि ओयाक्जुङका प्रधानाध्यापक कमल दुलालले बताए । उनका अनुसार गाउ“का सडक हिलाम्मे भएसँगै दूध बोक्ने गाडीसमेत समयमै आउने गरेका छैनन् ।
स्थानीय विकास मन्त्रालयले जारी गरेको ‘जिल्ला विकास समिति र गाउ“ विकास समिति अनुदान सञ्चालन कार्यविधि २०६७’ मा नया“ सडकको ट्र्याक खोल्ने कार्यलाई कम प्राथमिकता दिई भइरहेका सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी मर्मत सम्भार गर्नुपर्ने व्यवस्था गरेको छ ।
सोही कार्यविधिमा सडक निर्माण कार्यमा ठूला मेसिनरी उपकरणको प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।

तर उपभोक्ता समिति र ठेकेदारले कार्यविधि विपरीत जस्तोसुकै जमिनमा पनि डोजर लगाएर सडक निर्माण गर्दा वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ को समेत ठाडो उल्लङ्घन भएको पाइएको छ ।
जिविसले चालु आवदेखि भने सडक निर्माण गर्दा डोजर, स्काभेटर र ठूला मेसिनरी प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । पा“च वर्षअघि खनिएका सडकमा समेत वर्षैपिच्छे मर्मत सम्भारको नाममा करोडौँ रुपैयाँ खर्च भइरहेको जिविसले जनाएको छ ।
मोटो रकम खर्च गरेर मर्मत गरिएका सडक वर्षाको भेलले प्रत्येक वर्ष बगाउने गरेकाले बर्सेनि मर्मत सम्भारको नाममा राज्यकोषको करोडौँ रुपैयाँ स्वाहा भइरहेको नागरिक समाज तेह्रथुमका अध्यक्ष तुलसी सङ्ग्रौलाले बताए । जिविसले गत आवमा मात्र जिल्लाका एक दर्जनभन्दा बढी कृषि र ग्रामीण सडकमा करोडौँ रुपैैयाँ लगानी गरेको जानकारी दिएको छ ।
एकदशक अघिदेखि निर्माण थालिएको सिंधुवा र शुक्रबारेबीचको ९ किलोमिटर कृषि सडकसमेत हिलोकै कारण बीचबाटोमै बसपार्क बनाएर यातायातका साधन राख्ने गरिएको छ ।

वर्षाका कारण यो सडक खण्डको ५० भन्दा बढी स्थानमा खाडल परेर हिलो उठेको शुक्रबारे बजार व्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीले बताए ।