२८ आश्विन २०८३, बुधबार

यिङलक सिनावात्रालाई देश बाहिर जान सैनिक सरकारको अनुमति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yingluck-Shinawatra
बैंकक, १ साउन । थाइल्याण्डका पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई त्यहाँको सैनिक सरकारले देश बाहिर जान पाउने अनुमति दिएको छ ।

थाइल्याण्डमा गत मे २२ मा सैनिक कू गरिएपछि राजनीतिक दलका अधिकांश नेताहरुलाई घरैमा नजरबन्द गरिएको छ ।

नजरबन्दमा थाई पिउ पार्टीका प्रमुख एवम् निवर्तमान प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पनि नजरबन्दमा राखिएको छ ।

उनको आगामी हप्ता फ्रान्स जाने कार्यक्रम रहेकोमा सैनिक सरकारले देश छोड्न प्रतिबन्ध लगाएको थियो । तर बिहीबार सो प्रतिबन्ध फुकुवा गरिएको जानकारी उसले दिएको छ ।

आगामी हप्ता फ्रान्सको राजधानी पेरिसमा उनका दाजु एवम् थाइल्याण्डका अर्का पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको जन्म दिनको पार्टीमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

सो कार्यक्रममा जान अनुमति दिइएको थाइल्याण्डको सैनिक सरकारले बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ ।

पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राले हालैका दिनमा फ्रान्समा निर्वासित जीवन बिताउँदै आएका छन् । उनको ६५ औँ जन्मदिनको पार्टीमा यिङ्लक जान लागेकी छन् ।

सैनिक सरकारका प्रवक्ताले पूर्वप्रधानमन्त्री यिङ्लकलाई विदेश जाने अनुमति सरकारले दिएको जनकारी बिहीबार सार्वजनिक गरेको छ ।

जुन्ता सरकारका प्रवक्ताले भने, ‘उहाँले आगामी हप्ता देश बाहिर जान पाउँ भनी दिनुभएको निवेदन स्वीकृत भएको छ ।’

पूर्वप्रधानमन्त्री यिङ्लक थाइल्याण्डमा गत मे महिनामा सुरु भएको सैनिक सरकारपछि राजनीतिक क्रियाकलापबाट बाहिरै बस्नुभएकाले उनको आग्रहलाई अनुमति प्रदान गरिएको जानकारी पनि उनले दिए ।

थाइल्याण्डमा निरन्तर आठ महिनासम्म जारी रहेको सडक आन्दोलन र जसका कारण उत्पन्न असहज परिस्थितिका कारण त्यहाँका सैनिक प्रमुखले गत मे २२ मा सत्ता हत्याएका थिए ।

त्यसपछि सैनिकको सो कदमको सामान्य रुपमा विरोध भएको भएपनि सडक आन्दोलन भने हुन सकिरहेको छैन । त्यहाँका सयभन्दा बढी राजनीतिक नेताहरु नजरबन्दमा राखिएको छ । एएफपी