बर्लिन, ३१ असार । बर्लिनको ब्रान्डेनबर्ग गेटमा करिब दुई लाख पचास हजार जनताको हर्षित भीडले मङ्गलबार विश्वकप फुटबल खेलका विजेताहरुलाई यस एकीकृत जर्मनीमा पहिलोपटक यस खेलको सर्वोच्च पुरस्कार लिएर आएको राष्ट्रिय व्यक्तित्वको रुपमा स्वागत गरेका छन् ।
ब्राजिलको रियो दी जेनिरोबाट विजयी खेलाडी बोकेको जहाज अवतरण भएको टेलिभिजनहरुले देखाएपछि झण्डा बोकेका भीडले उनीहरुलाई स्वागत गरेका थिए ।
बर्लिनको मध्यभागमा मानिसहरुको भीड बिहानैदेखि जुट्न थालेको थियो । तेगेल विमानस्थलको उक्त विमान अवतरण भएको हेर्न नै हजारौँ मानिस भेला भएका थिए । यी विजयी खेलाडीलाई ल्याएको लुफ्थान्साको जेट विमानको नाम विजयीको विमान अर्थात ‘फानहंस’ राखिएको छ ।
उक्त विमानबाट क्याप्टेन फिलिप लाह्म आरम्भमा बाहिर आएका थिए र उनको हातमा फिफाको कप रहेको थियो ।
उनीपछि मध्यभागमा खेल्ने बास्टिन स्वाइन्स्टिगरले जर्मन झण्डा बोकेका थिए । विमानस्थलका कर्मचारीहरु पनि यस समयमा आफ्नो मोबाइल फोनबाट उनीहरुको फोटो खिच्न व्यस्त देखिन्थे भने उनीहरुको प्रशंसकले चिच्याउँदै उनीहरुको स्वागत गरेका थिए ।
‘‘यो ऐतिहासिक घटना हो’’ ३४ वर्षीय बस चालक बन्र्ड हेसले बताए । उनी गाडी चलाउँदा पनि आफ्नो रेडियोमा यस खेलका बारेमा जानकारी लिन्थे ।
जर्मर्नीका खेल प्रंशसकले विश्वकप विजेता हुन २४ वर्ष कुरेका थिए । पश्चिम जर्मनी हुँदा यस मुलुकले तीन पटक यस खेलमा विजय हासिल गरे पनि एकीकृत जर्मनीका लागि यो पहिलो विजय हो ।
यी खेलाडीलाई बर्लिनसम्म कालो बसमा ल्याइएको थियो र उनीहरु आएका मार्गमा उनीहरुका प्रशंसकको लाइन देखिन्थ्यो ।
सडकको किनारामा निर्माण स्थलमा कामदारले उनीहरुलाई कामको मचानमै बसेर स्वागत गरे । यो बसको पछाडि मोटरसाइकल तथा साइकलको समूह रहेका थिए ।
नगरको मध्यभागमा पुगेपछि उनीहरुलाई छत नभएको ट्रकमा राखिएको थियो ।
यी विजयी खेलाडीलाई स्वागत गर्ने भीड पनि अविश्वसनीय भएको धेरैको धारणा छ । रासस/एएफपी














प्रतिक्रिया