बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

ब्राजिलमा हर्ष, आँशु र हिंसाको मिश्रण

दैनिक नेपाल २०७१ असार ३० गते १८:०८

Brazil-protest

रियो डे जेनेरियो, ३० असार । अर्जेन्टेनियन खेलाडीले विश्वकप फुटबलको उपाधि हात पार्न नसकेपछि ब्राजिलको रियो डे जेनेरियोको माराकाना स्टेडियममा अकस्मात आँशु बग्न थाल्यो ।

सुरुमा खेलाडी रोए र त्यसपछि उक्त स्टेडियमको दर्शक दिर्घामा बसेका अर्जेन्टेनियन दर्शकहरु रुन थाले । त्यसपछि सो स्टेडियममा रहेका अर्जेन्टेनियन नागरिक र उसका समर्थकहरुका बीचमा एक खालको स्तब्ध वातावरण देखियो ।

आइतबार भएको विश्वकप फुटबलको अन्तिम दिनको फाइनल खेलमा जर्मनीले यस पटकको विश्वकपको उपाधि हात पार्न सफल भयो । आइतबार उसले सो उपाधि हात पारेपछिको मिश्रित वातावरण हो यो ।

यस विश्वकप संस्करणमा जर्मनी र अर्जेन्टिना फाइनमा पुगेका थिए । अइतबारको सो फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोल अन्तरले हरायो । यसरी विश्वकपको उपाधि जर्मनीले यो चौथौ पटक चुम्न सफल भयो ।

निर्धारित ९० मिनेटको समयमा दुवै पक्षले गोल गर्न नसकेपछि पछि थपिएको ३० मिनेट समयमा जर्मनीले गोल गरेको थियो । जर्मनीका खेलाडी म्यारियो गोट्जेले खेलको अतिरिक्त समयको ११४ मिनेटमा गोल गरेका थिए ।

अन्ततः उनको गोलले नै जर्मनीलाई यो उपाधि दिलायो । जर्मनी विश्वकप अन्तर्गत सबैभन्दा बढी सेमी फाइनल र फाइनलमा प्रवेश गर्ने टिम हो । उसलाई लगभग हरेक विश्वकपमा नै एउटा बलियो दाबेदारको रुपमा पनि हेरिन्छ ।

उता २४ वर्षपछि फाइनलामा पुगेको अर्जेन्टिनाका लागि पनि यो खेल निकै नै महत्वको रहेको थियो । अर्जेन्टिना र विश्वका उसका समर्थक दर्शकहरुले अर्जेन्टिनाका स्ट्राइकर मेसीको निकै आस गरेका थिए ।
तर आइतबारको खेल निकै राम्रो खेलेपनि मेसी तथा त्यहाँका खेलाडीहरुले गोल गर्ने कयौँ अवसरहरु भने गुमाएका थिए । सो खेललाई धेरैले निकै राम्रो भनी टिप्पणी गरेका छन् ।

सो परिणामपछि जर्मनीले विजयोत्सव गरिरहँदा उता अर्जेन्टिनाका समर्थक दर्शकहरुले स्टेडियमभन्दा बाहिर हुल दंगा गरेका थिए । उनीहरुले प्रहरीमाथि आक्रमण गर्नुको साथै ट्राफिक बत्तीमा समेत हमला गरेका थिए ।

उनीहरुले पनि मेसीलाई हिरो भन्दै नाराबाजी गर्नुका साथै सडकमा निकै आक्रामक रुपमा प्रदर्शनहरु गरेका थिए । अर्जेन्टिनाको राष्ट्रिय झन्डा फहराउँदै उनीहरुले आफ्नो जित भएको बताइरहेका थिए ।

यसरी प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीमाथि ढुंगा मुडा गर्ने तथा सडकछेउमा रहेका सडक बत्तीहरुमाथि पनि आगजनी गर्न थालेपछि भने प्रहरीले पनि रबरका गोली प्रहार गरेको थियो ।

साथै विभिन्न स्थानमा टियर ग्याँसका साथै पानीको फोहरा समेत प्रहरीले प्रयोग गर्नुपरेको जनाएको छ । सरकारले प्रहरीतर्फ १० जना घाइते भएको जनाएको छ ।

ती प्रदर्शनकारीहरुले होटर रेस्टुरेन्टमा पसेर त्यहाँका कुर्सी टेबलहरु बाहिर फाल्नुका साथै बस पार्कहरुमा निर्माण गरिएका बस बिसौनीहरु पनि भत्काएका थिए ।

निकै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएपछि मात्र दशौँ हजारको सङ्ख्यमा रहेका ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सकिएको सरकारले जनाएको छ ।

यसअघि नै सो हिंसात्मक आक्रमणको सम्भावनालाई मध्यनजर गरेर नै उक्त फाइनल खेलका लागि कम्तीमा पनि २६ हजार प्रहरी खटाइएको ब्राजिल सरकारले जनाएको थियो ।

तर हिजो दशौँ हजारको सङ्ख्यामा प्रदर्शनकारीले हुलहुज्जत गर्न थालेपछि भने ती प्रहरीले स्थिति नियन्त्रणमा लिन नै सकेका थिएनन् । तत्कालै अरु केही हजार प्रहरीलाई सडकमा खटाइएको बताइएको छ ।
जे होस, आइतबारदेखि विश्वकप फुटबलको यो पछिल्लो संस्करणको अन्त्य भएको छ र यस संस्करणले विश्व च्याम्पियनका रुपमा जर्मनीलाई चौथो पटक स्थापित गरेको छ ।

उता २४ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको र यसलाई म्याराडोनाको नेतृत्वपछि पनि विश्व च्याम्पियनको रुपमा स्थापित गर्न प्रयत्न गरेको अर्जेन्टिनाले भने उपविजेतामै चित्त बुझाउनु परेको छ ।

यो विश्वकप मार्फत अर्जेन्टिना म्याराडोनाको अर्काे सशक्त पुस्ता जन्माउन चाहन्थ्यो र त्यो पुस्ताको दरिलो नेताका रुपमा वर्तमान स्ट्राइकर मेसीलाई स्थापित गर्न चाहन्थ्यो ।

त्यसैले नै संसारका लाखौँ करोडौँ दर्शकले मेसीले उक्त उपाधि चुमेको दृश्यलाई प्रत्यक्ष वा टेलिभिजनको पर्दामा हेर्न चाहन्थे र त्यो घडी आइतबारका लागि प्रतिक्षा गरिरहेका थिए ।

यो संस्करणकै सबैभन्दा राम्रो खेलाडीका रुपमा मेसीले सुनको बल त पाए तर उनीमाथिको गहन अभिभारा पूरा हुन नसकेको महसुश उनी स्वयंले पनि अवसरमा गरेका थिए र जसका कारण त्यस गोल्डेन गोल भने छायामा देखिन्थ्यो ।

सायद यो तिक्तता उनीमा पनि थियो र जसका कारण उनले प्राप्त गरेको सो सुनको बल सबै दर्शकका सामु गर्भका साथ उचालेर देखाउन सकेनन् । टाउकोमाथि लगेर सबैले देख्नेगरी प्रदर्शन गर्न सकेनन् । रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित