सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

अब्दुल्लाहले राष्ट्रपतिय निर्वाचन परिणाम अस्वीकार गरेपछि अफगानिस्तानमा राजनीतिक सङ्कट

दैनिक नेपाल २०७१ असार २८ गते १५:२७

afghanisthan-map

काठमाडौँ, २८ असार । विगतका १३ वर्ष भन्दा बढी समयदेखि भीषण युद्धले आक्रान्त देश अफगानिस्तानमा हालैका दिनमा राजनीतिक सङ्कट पनि थपिएको छ । हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै घोषित परिणामलाई प्रमुख प्रतिद्वन्द्वी उम्मेदवारले नमान्ने अडान लिएसँगै त्यहाँ राजनीतिक सङ्कट गहिरिएको हो ।

यसै हप्ता सार्वजनिक गरिएको राष्ट्रपतिय निर्वाचनको परिणाम अनुसार एकजना उम्मेदवार अर्थशास्त्री असरफ घानीले स्पष्ट बहुमत ल्याएपछि त्यसलाई अर्का उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले नस्वीकार्ने अडान लिएपछि राजनीतिक विवाद उत्पन्न भएको छ । अब्दुल्लाहले निर्वाचनमा धाँधली भएको भन्दै सो निर्वाचन परिणाम नस्वीकार्ने जानकारी यसअघि दिइसकेका थिए । तालीवानी आतङ्ककारी समूहले सुरक्षित रणभूमि बनाएको यो देशमा हाल उत्पन्न यस नयाँ विवादले हिंसा अझै बढाउने र स्वतः थप नयाँनयांँ सङ्कटहरु निम्तिन सक्ने देखिएको छ ।

अब्दुल्लाहको यो घोषणाले अफगानिस्तानमा राजनीतिक सङ्कट झन् गहिरिदै गएको विश्लेषकले विश्लेषण गरेका छन् । अफगानिस्तानमा जारी यसै राजनीतिक सङ्कट समाधानका लागि अमेरिकी विदेशमन्त्री जोन केरी गत शुक्रबार अफगानिस्तान पुग्नुभएको थियो । हालै सुरु भएको नयाँ राजनीतिक विवादले थप गम्भीर र सङ्कटपूर्ण अवस्था उत्पन्न गरेकाले समाधानको सरल उपाय खोज्नका लागि उहाँ त्यहाँ पुग्नुभएको थियो । यस नयाँ विवादले अफगानिस्तानलाई यसअघिको जस्तो जातीय द्वन्द्व र अन्ततः पुनः अनियन्त्रित गृहयुद्धको स्थितिमा पु¥याउन सक्ने आशङ्का पनि उब्जिएको बताउन थालिएको छ ।

राष्ट्रपतीय निर्वाचनमा भोट खसाल्न मतदान केन्द्र पुगेका केही मतदाताले आतंककारीको आक्रमणमा परी औला समेत गुमाउनु परेको थियो । गत जुन १४ मा सम्पन्न दोस्रो चरणको राष्ट्रिपतीय निर्वाचनमा हेरात प्रान्तमा आफ्नो मताधिकार उपयोग गर्न गएका १० जना नागरीकको औंला तालिवानी आतङ्ककारीहरुले काटिदिएका थिए । गत अप्रिल ५ र जुन १४ गरी दुई चरणमा सम्पन्न निर्वाचनमा सयौं निर्दोष अफगानी नागरिकले आफ्ना ज्यानको बाजी लगाएका छन् । जनताको यो बलिदान कतिसम्म सफल हुने हो, सर्वत्र यसको प्रतीक्षा गरिएको छ ।

पहिलो चरणमा भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि भएको यो पछिल्लो चरणको निर्वाचन परिणाम नस्वीकार्ने भन्दै अब्दुल्लाह अब्दुल्लाहले आन्दोलन समेत गर्ने चेतावानी दिएपछि हाल त्यहाँको राजनीतिक सङ्कट गहिरिँदो देखिएको छ । सो सङ्कट समाधानका लागि भन्दै अमेरिकी विदेश मन्त्री जोन केरी अफगानिस्तान पुग्नुभएको छ । तर त्यस विषयमा खासै घनीभूत रुपमा छलफल हुन सकिरहेको छैन ।
निवर्तमान राष्ट्रपति कारजाइले पटक पटक शान्तिप्रक्रियामा आउन तालिवानीलाई आग्रह गर्नुभए पनि उनीहरूले यो आग्रहलाई सुनेका छैनन् । दिनहुँ त्यहाँ नागरिकको हत्या भइरहेको छ भने सैनिक पनि त्यत्तिकै मारिएका छन् । यस लक्षणले सन् २०१४ सम्म त्यहाँबाट नेटो सैनिक फिर्ता हुने कार्यक्रम रहे पनि यस समयभित्र शान्तिप्रक्रिया सुरु हुने कुरामा आशङ्का गराउँछ ।

अमेरिकाको न्युयोर्कस्थित विश्व प्रसिद्ध “ट्विन टावर” मा सन् २०११ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमण र आगलागीबाट सो टावर धराशायी भएपश्चात् यस आतङ्ककारी आक्रमणका योजनाकार, अल–कायदा संगठनका प्रमुख ओसामा बिन लादेन र त्यस समूहका अन्य नाईकेहरुलाई खोज्न अफगानिस्तानमा अमेरिकी सेना तथा नेटो आवद्ध सेना भित्रिएका थिए । सन् २००१ अक्टोबर ७ बाट आरम्भ भएको अफगान युद्ध हालसम्म पनि पूर्णरुपमा समाप्त भएको छैन ।

विगतका १३ वर्षदेखि तालिवानी आतङ्ककारीसँगको युद्ध पछि सन् २०१४ को अन्त्य सम्ममा नेटो सैनिक अफगागानिस्तानबाट फर्किने निर्णय नेटोआवद्ध सबै देशहरुले केही समय अघि नै गरिसकेका थिए । सन् २०१० सम्ममा एक लाख ३० हजार नेटो सैनिक रहेकामा हाल आएर यो सङ्ख्यालाई घटाएर करिब ५१ हजारमा ल्याइएको छ ।

कतिपय नेटो सैनिकले यसअघि नै अफगानिस्तान छोडिसकेका छन् । बाँकी रहेका ती सैनिकले पनि यस वषर््ाको अन्त्यसम्ममा अफगास्तिान छोड्ने छन् । तर अब आउने दोस्रो प्रजातान्त्रिक सरकार प्रमुख र वासिङ्गटनबीच सम्झौता भएमा आगामी वर्षदेखि करिब १० हजार अमेरिकी सेना अफगास्तिानमा रहने योजना अमेरिकाले बनाइरहेको छ ।

नेटो सैनिकले अफगानिस्तान छोडेपछि अफगास्तिानमा सुरक्षाको जिम्मा सम्पूर्णरुपमा अफगानी सुरक्षा बलको काँधमा आउने हुनाले अहिलेदेखि नै अफगानी सुरक्षा बल प्रयासरत छन् । तर देशमा शान्ति हुने लक्षण देखा परेको छैन । हरेक दिन सर्वसाधारण जनता र जनताको सुरक्षाका लागि परेका अफगानी सुरक्षाबल र नेटो सैनिक पनि दिन रात बम, गोली र अन्य प्राणघातक शस्त्रको आक्रमणमा परी ज्यान गुमाउनुपर्ने अवस्था कायम रहेको छ । यस्तो विषम परिस्थितिकाबीच पनि सर्वसाधारण जनताले आफ्नो ज्यान खतरामा राखेर दोस्रो प्रजातान्त्रिक राष्ट्रपतिको चयनको लागि दुई चरणको मतदानमा भाग लिएका थिए । तर अब सो निर्वाचन पनि धरापमा पर्ने भएपछि अबको अफगानिस्तानको भविश्यमाथि प्रश्न थप उब्जिने त होइन भनेर चिन्ता व्यक्त गर्न थालिएको छ ।

निवर्तमान राष्ट्रपति हमिद कारजाइले शान्ति स्थापना गर्न कैयौँ प्रयास गर्नु भए पनि ती सफल नहुँदा इस्लामिक गणतन्त्र अफगानिस्तानलाई अहिलेपनि आतङ्ककारी तथा सरकार विरोधी तालिवानी सशस्त्र लडाकूले निर्वाध युद्धभूमि बनाएका छन् । सन् २००१ देखि सुरु भएको आतङ्कारी आक्रमण, हत्या–हिंसाको शृङ्खलाले अझै केही वर्षसम्म विश्राम नपाउने विश्लेषकहरूको भनाइ छ । अमेरिका र अफगानिस्तान सरकारले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत हुँदै गएको दाबी गरे पनि वर्सेनि हत्या एवम् हिंसाका शृङ्खलामा भने कमी नआएको संयुक्त राष्ट्रसङ्घले जनाउँदै आएको छ ।

आफ्ना वर्तमान र भविष्य लगायत भावी सन्तानका लागि ज्यानको वाजी लागाउँदै शान्तिको कामना गर्ने अफगानिस्तानी जनताले कहिले सम्ममा पूर्ण शान्तिको सास फेर्न पाउने हुन् यसमा विश्व समुदाय पनि चिन्तित छ । प्रतीक्षा गरौं, प्राकृतिक स्वरुप, भू बनावट, सांस्कृतिक, कृषि र खनिज सम्पदाबाट समृद्ध यस देशमा हाल जारी रहेको राजनीतिक सङ्कटको समाधान र आतङ्कवादको अन्त्य भई जनताले कुनै दिन देखि चीरस्थायी शान्ति पाउने छन् । (स्रोतः विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा वेबसाइट)

प्रतिक्रिया
सम्बन्धित