सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

राजनीतिक  विवाद मिलाउन अमेरिकी विदेशमन्त्री केरी अफगानिस्तानमा

दैनिक नेपाल २०७१ असार २७ गते १८:१६

afghanisthan-map
काबुल, २७ असार । अमेरिकी विदेशमन्त्री जोन केरी शुक्रबार अफगानिस्तान पुग्नुभएको समाचार छ । हाल त्यहाँ देखा परिरहेको राजनीतिक सङ्कटको समाधानका लागि उहाँ त्यहाँ पुग्नुभएको बताइएको छ ।

अफगानिस्तानमा सुरु भएको नयाँ राजनीतिक विवादको समाधानका लागि आवश्यक उपायको खोजीका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।

विदेशमन्त्री केरीले अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङघीय मिसनका सहयोगीसँगको भेटमा भन्नुभयो– पक्का पनि अफगानिस्तानका विषयमा हामी यतिखेर निकै नै गम्भीर र सङ्कटपूर्ण अवस्थामा छौँ ।

अफगानिस्तानको राजधानी काबुल पुग्नुभएका उहाँको उपस्थितिका लागि निकै नै कडा सुरक्षाको व्यवस्था गरिएको समाचारमा जनाइएको छ ।

उहाँले राष्ट्रपतीय निर्वाचनको विषयलाई लिएर पछिल्लो समयमा सुरु भएको विवादलाई थप विस्तार गर्ने हो भने त्यसले देशको भविष्यमा निकै ठूलो असर पार्ने चेतावानी पनि त्यहाँका नेताहरुलाई दिनुभएको छ ।

हाल अफगानिस्तानमा निर्वाचनसम्बन्धी विवाद सुरु भएको छ । अफगानिस्तानमा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा पराजित एक उम्मेदवारले सो निर्वाचन परिणाम नस्वीकार्ने जनाएपछि विवाद उत्पन्न भएको छ ।

बिहीबार मत्र पनि अमेरिकी विदेशमन्त्री केरीले अफगानिस्तान यतिखेर निकै सङ्टकपूर्ण र गम्भीर मोडमा रहेको बताउनुभएको थियो । राष्ट्रपतीय निर्वाचनको परिणामका विषयलाई लिएर अफगानिस्तान हाल निकै गम्भीर मोडमा रहेको बताइएको हो ।

यसै हप्ता सार्वजनिक गरिएको राष्ट्रपतीय निर्वाचनको परिणामअनुसार एकजना उम्मेदवार अर्थशास्त्री असरफ घानीले स्पष्ट बहुमत ल्याएपछि त्यसलाई अर्का उम्मेदवारले नस्वीकार्ने जनाएका छन् ।

अर्का उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले सो परिणामलाई अस्वीकार गरेका छन् । उनले निर्वाचनमा धाँधली भएको भन्दै सो निर्वाचन परिणाम नस्वीकार्ने जानकारी यसअघि नै दिइसकेका छन् ।

सो निर्वाचन परिणामपछि अफगानिस्तानमा विवाद बढेको हो । निर्वाचनको परिणामलाई लिएर बढेको विवादले यसैपनि हिंसाको चपेटाम रहेको सो देशमा थप सङ्कटहरु आउनसक्ने अमेरिकाले जनाएको छ ।

बिहीबार चीनको राजधानी बेइजिङमा सो प्रतिक्रिया दिनुभएका विदेशमन्त्री केरी आजै अफगानिस्तान पुग्नुभएको हो । अफगानिस्तानको राजनीतिक सङ्टक गहिरिएमा त्यो देशका लागि नै दुर्भाग्य हुने अमेरिकाले बताउदै आएको छ ।

यो विवादले अन्ततः अफगानिस्तानलाई यसअघिको जस्तो जातीय द्वन्द्वको अवस्थमा पु¥याउन सक्ने आशङ्का पनि उब्जिएको छ– उहाँले प्रतिक्रिया दिनुभएको छ ।

विदेशमन्त्री केरीले आजै निर्वाचन परिणाम अस्वीकार गरेका अर्का नेता अब्दुल्लाह अब्दुल्लाहसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अफगानिस्तान विगत दशकभन्दा लामो समयदेखि युद्वकै अवस्थामा रहेको छ । त्यहाँको सुरक्षामा विदेशी सैनिक (नेटो आवद्ध सैनिक) खटिइआएका छन् ।

ती नेटो आबद्ध राष्ट्रहरुका अनुसार यसै वर्षको अन्त्यसम्ममा उनीहरुले अफगानिस्तान छोड्ने योजना बनाएका छन् । यद्यपि त्यहाँ सुरक्षाको अवस्था मजबुद भने भइसकेको छैन ।

यस्तो अवस्थामा आएर अफगानिस्तानमै थप राजनीतिक विवाद उत्पन्न हुने हो भने यसले देशको भविष्यलाई थप अन्योल बनाउने अमेरिका र विश्व समुदायको विश्लेषण छ । रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित