बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

यस्ता छन् पाकिस्तानका नयाँ प्रधानन्यायाधीश

दैनिक नेपाल २०७१ असार २२ गते २०:२५

nasirul-mulk-app

इस्लामाबाद, २२ असार । पाकिस्तानका नयाँ प्रधानन्यायाधीश ६३ वर्षीय नसिर–उल–मुल्कले आइतबार सपथग्रहण गर्नुभएको छ भने यसबाट राजनीतिक मुद्दामा सर्वोच्च अदालतको निर्णयबाट वर्षौंदेखि देखिने गरेको न्यायिक सक्रियता अन्त्य भएको ठानिएको छ ।

प्रधानन्यायाधीश नसिर–उल–मुल्क सर्वोच्च अदालतमा सबैभन्दा वरिष्ठ न्यायाधीश हुनुहुन्थ्यो र यसअघिका प्रधानन्यायाधीश तासादक हुसेन जिलानीले अवकास पाउनुभएपछि उहा उक्त पदमा पुग्नुभएको हो ।

सन् २००७ मा तात्कालीक शासक जनरल पर्वेज मुसर्रफले प्रधानन्यायाधीश इफ्तिखर मुहमद चौधरीलाई बर्खास्त गरेपछि पाकिस्तानमा न्यायपालिका राजनीतिक रूपमा सक्रिय भएको हो । मुलुकभर वकिलहरूले आन्दोलन चलाएपछि सन् २००९ मा उहाँलाई पुनर्वहाली गरिएको थियो ।

यसपछि चौधरीले सरकारका विरोधमा अनेकौँ मुद्दा लिनुभएको थियो र तत्कालीन प्रधानमन्त्री युसफ रजा गिलानीलाई अदालतको मानहानि गरेको आरोपमा अयोग्य भएको निर्णय गर्नुभएको थियो ।

सन् २०१३ को डिसेम्बरमा चौधरीको अवकाशपछि उहाँपछिका जिलानीले सार्वजनिक रुचिका तथा व्यक्तिगत गुनासालाई प्राथमिकता दिएर सुनुवाइ गर्नुभएको थियो ।

मुल्कले प्रधानमन्त्री नवाज सरिफ तथा उहाँका मन्त्रिपरिषद्का सदस्यहरूको उपस्थितिमा राष्ट्रपति ममनुन हुसेनसमक्ष सपथग्रहण गर्नुभएको हो । उहाँले राज्यका अन्य निकायसँग समन्वयमा सर्वोच्च अदालतको भूमिका अगाडि बढाउनुहुने अपेक्षा गरिएको छ ।

आफ्ना पूर्ववर्तीको अवकाशका अवसरमा दिनुभएको भाषणमा प्रधानन्यायाधीश मुल्कले न्यायपालिकाले निर्णय गर्दा न्यायको व्यक्तिगत अवधारणाबाट हस्तक्षेप हुन दिन नहुने र कानुनमा बाँधिनुपर्ने बताउनुभयो ।

उहाँले पाकिस्तान सरलतापूर्वक सञ्चालन हुन राज्यका निकायहरूले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले राज्यका अन्य स्तम्भको कार्यसम्पादनमा अनावश्यक हस्तक्षेप हुन नदिनु न्यायपालिकाको संवैधानिक कर्तव्य भएको बताउनुभयो । रासस÷एएफपी

प्रतिक्रिया
सम्बन्धित