म्याग्दी, २२ असार । म्याग्दीको सिङ्गा र बरङ्जाका किसानलाई भकारो सुधार गर्न करिब साढे १३ लाख रुपियाँ अनुदान उपलब्ध गराइएको छ ।
जिल्ला कृषि विकास कार्यालय र सिङ्गा गाविस कार्यालयले २ सय ६३ घरधुरी किसानलाई भकारो निर्माण गर्न १३ लाख ३८ हजार २ सय रुपियाँ आर्थिक सहयोग गरेका हुन् । गुणस्तरीय कम्पोस्ट मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउने उद्देश्यले परम्परागत भकारोलाई सुधार गर्ने किसानलाई अनुदान उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७०÷७१ देखि सुरु भएको यस कार्यक्रमअन्तर्गत सिङ्गाका १ सय २५ र बरङ्जाका १ सय ११ घरधुरी किसानलाई पाँच हजार २ सय रुपियाँका दरले अनुदान उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत पूर्णबहादुर बानियाँले जानकारी दिए ।
यसैगरी हाल बेनी नगरपालिकाको सिङ्गा गाविसको कार्यालयले पनि आफ्नो सेवा क्षेत्रका कृषकलाई प्रतिघर एक हजार रुपियाँका दरले थप अनुदान उपलब्ध गराएको वडा कार्यालयका सचिव चन्द्रदत्त शर्माले बताए ।
कार्यक्रमलाई आगामी वर्ष थप विस्तार गर्ने योजना रहेको बागबानी विकास अधिकृत बानियाँले बताए ।
कृषकका अनुसार तीनवटासम्म गाईवस्तु पाल्न सकिने क्षमताको भकारो सुधार गर्न १० देखि १२ हजार रुपियाँ लगानी भएको छ । खुला ठाउँको मलखादबाट नाइट्रोजन नष्ट हुने तथा मूत्र खेर जाने गरेको अवस्थामा भकारो सुधार गरेपछि गुणस्तरीय मल उत्पादनमा सहयोग मिलेको किसानले बताएका छन् ।
पशुको बसाइ व्यवस्थापन गरी गुणस्तरीय कम्पोस्ट मलमार्फत कृषि उपजको उत्पादन बढाउने उद्देश्यले भकारो सुधार गरिएको सिङ्गा सुर्केमेलाकी कृषक सीता पौडेलले बताए ।
कृषक पौडेलका अनुसार ट्याङ्कीमा सङ्कलन गरिएको गाईवस्तुको मूत्रलाई तरकारी र अन्नबालीमा लाग्ने रोग कीरा नियन्त्रणका लागि उपयोग गर्न सकिने भएको छ ।













प्रतिक्रिया