२८ आश्विन २०८३, बुधबार

मकैको घोगामा दाना नलागेपछि कृषक चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur_district_map

कञ्चनपुर, १९ असार । मकैको घोगामा दाना नलागेपछि कञ्चनपुर पिपलाडी–७ का कृषक मर्कामा परेका छन् ।
स्थानीय एग्रोभेटबाट हाइब्रिड सिटेक जातको मकैको बीउ खरिद गरेर खेतमा रोपेका कृषकको मकैको घोगामा दाना नलागेपछि लगानी खेर गएको छ ।

पिपलाडी स्वास्थ्य चौकीको सात कठ्ठा जग्गा भाडामा लिएर मकैखेती गरेका कृषक शङ्कर विष्टले मकैको बोट र घोगा ठूलै लागेपनि घोगामा दाना नलाग्दा लगानी खेर गएको बताउनुभयो ।

सिँचाइ, बीउ र मलखाद गरी रु दश हजार लगानी गरेर मकै रोपेको उहाँले बताउनुभयो । “एग्रोभेट सञ्चालकले मकै हाइब्रिड जातको रहेकाले बढी फल्छ भनेर खेतमा रोपेको थिएँ उहाँले भन्नुभयो”, “दाना नै नलागेपछि परिवार कसरी पाल्ने चिन्ता थपिएको छ ।” पूरै खेतमा मकैका घोगा भाँयेर हेर्दा एउटामा पनि दाना नलागेको पाइएको पिपलाडी गाविसका प्राविधिक वीरेन्द्र थापाले बताउनुभयो ।

यहाँका वसन्ते मकैखेती गरेका आधा दर्जन बढी कृषकले रोपेको मकैको घोगामा दाना लागेको छैन । व्यावसायिक रूपमा यहाँका अधिकांश कृषकले मकै लगाउने गरेका छन् । मकैको घोगामा दाना नलागेको यहाँ पहिलोपटक हो ।

कृषि विकास कार्यालय कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले कञ्चनपुरसहित तराईका जिल्लाका लागि राजकुमार र अरूण २ जातका हाइब्रिड मकैको बीउमात्रै पञ्जीकृत रहेको बताउनुभयो ।

भारतीय प्रतिबन्धित बीउका कारण कृषकले नोक्सानी व्यहोर्नु परेको उहाँले बताउनुभयो । कृषि सेवा केन्द्रका कृषि प्राविधिकको सल्लाहबिना कृषकहरूले एग्रोभेट सञ्चालकको सल्लाहमा जुन बीउ पायो त्यही रोप्ने गरेकाले मकैको घोगामा दाना नलाग्ने समस्या देखापरेको बताउनुभयो ।

“घोगामा दाना नलाग्नुका कारणबारे कृषि प्राविधिकलाई पठाएर बुझ्छौँ” उहाँले भन्नुभयो । उहाँले वसन्ते मकैखेती गर्ने कृषकलाई कृषि विभागले पञ्जीकृत गरेका बीउहरूको मात्रै प्रयोग गर्न आग्रह गर्नुभएको छ ।