काठमाडौँ, १३ असार । निर्वाचित सरकार गठनपछि निजी तथा अन्तर्राष्ट्रिय लगानीका वातावरणमा सुधार आएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालै गरेको अनुसन्धानले अस्थिर राजनीतिमा क्रमशः सुधार आई लगानी तथा व्यावसायिक क्षेत्रमा सकारात्मक परिवर्तन आएको जनाएको हो ।
सो अवसरमा अर्थमन्त्री डा रामशरण महतले लगानीको वातावरणमा सकारात्मक परिवर्तनले अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुग्ने भएकाले यस अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै आर्थिक विकासका लागि कडा परिश्रम गर्न निजी क्षेत्रलाई सुझाव दिनुभयो ।
आर्थिक क्षेत्रलाई समग्र रुपमा सोच्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आर्थिक क्षेत्रमा प्रभाव पार्ने सबै क्षेत्रको आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री डा महतले सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा सुधार ल्याइने स्पष्ट पार्नुभयो ।
अर्थ मन्त्रालयका सहसचिव डा वासुदेव शर्माले पूर्वाधार, सूचना प्रविधि, पुँजीबजार, पर्यटन तथा अन्तर्राष्ट्रिय लगानीका क्षेत्रमा सुधार आएको बताउँदै विगतमा ऊर्जा सङ्कट र राजनीतिक अस्थिरताले लगानीमा विश्वास घटेको भए पनि त्यसमा क्रमशः सुधार आएको जिकिर गर्नुभयो ।
अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय मानिएको व्यापार विश्वास सूचकाङ्क(बिसिआइ) नेपालमा सन् २०१४ को पहिलो छ महिनामा दुई प्रतिशत विन्दुले बढेर ५१ पुगेको हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५० प्रतिशतभन्दा माथिको अवस्थालाई विश्वासको वातावरणका रुपमा लिइन्छ । व्यापार विश्वास सूचकाङ्क अर्थतन्त्रको विविध सूचकाङ्कमा आएको सकारात्मक परिवर्तनको आधारमा अनुसन्धानमार्फत निर्णय लिइने गरिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल लगानीका लागि विश्वासयोग्य देशको सूचीमा ११७ औंँ स्थानमा छ ।














प्रतिक्रिया