काठमाडौं, १२ असार । नेपाल स्टक एक्सचेन्जमा बुधबार अहिलेसम्मकै उच्च कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन दोस्रो बजारमा ९१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको समाचार अन्नपूर्ण पोष्टमा आशिष ज्ञवालीले लेखेका छन् ।
यसभन्दा अगाडि सबैभन्दा बढी ८६ करोड रुपैयाँको कारोबार भएको थियो। एउटै कम्पनीको २० करोड रुपैयाँभन्दा बढी कारोबार भएको हुनाले सेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाएको हो।तारागाउँ रिजेन्सी होटेलको २१ करोड रुपैयाँको अग्राधिकार सेयर खरिदबिक्री भएका कारण सेयर कारोबार रकम यति धेरै पुगेको हो। यस्तै नेसनल हाइड्रोको पनि पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ। यसको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले बढेको छ।
स्टक ब्रोकर एसोसिएनका पूर्वअध्यक्ष अञ्जनराज पौडेलका अनुसार ठूला कम्पनीको सेयर खरिदबिक्री बढेको हुनाले कारोबार रकम उच्च भएको हो। ‘असार मसान्त नजिक आउन थालेको हुनाले अन्य कम्पनीको सेयर कारोबार पनि बढेको छु, उनले भने, ‘ऋण तिर्नका लागि सेयर बेच्ने लगानीकर्ता धेरै छन्।’ नेप्सेमा बुधबार एक सय ३८ कम्पनीको ७४ लाख ९१ हजार ६४ कित्ता सेयर खरिदबिक्री भएको छ। एउटै कम्पनीको बढी सेयर कारोबार भएकोले सेयर बजारमा दैनिक हुने कारोबार रकम बढेको भन्न हतार हुने विश्लेषण बजार विश्लेषकको छ।
बजार विश्लेषक रवीन्द्र भट्टराईले एउटै कम्पनीको बढी कारोबार भएको कारण कारोबार रकम बढेको बताए। ‘एउटा कम्पनीको ठूलो रकमको सेयर खरिदबिक्री भएको छु, उनले भने, ‘अन्य कम्पनीको सेयर कारोबार सामान्य खालको छ। आर्थिक वर्ष सकिन लागेको हुनाले पनि सेयर बिक्रीमा चाप पर्ने गरेको छ।’
कारोबार रकममा नयाँ रेकर्डसँगै नेप्सेले बुधबार पनि हरियो संकेत दिएको छ। नेप्से परिसूचक ८।६२ अंकले बढेर ९३२।१९ अंकमा पुगेको छ। समूहगत परिसूचकको आधारमा वित्त र अन्य समूहको परिसूचक ओरालो लागेको छ।
तारागाउँबाट एडीबी बाहिरियो
काठमाडौं स् तारागाउँ रिजेन्सी होटेल (हायात) मा रहेको आफ्नो सेयर डोनिमियन इन्भेस्टमेन्ट कम्पनीलाई बिक्री गरेर एसियाली विकास ब्यांक बाहिरिएको छ। हायात होटेल सन् १९९५ मा निर्माण गर्दा एसियाली विकास ब्यांंक र दक्षिण कोरियाली विकास ब्यांकले पनि लगानी गरेका थिए। यसैगरी डोनिमियन इन्भेस्टमेन्ट कम्पनीले पनि चार करोड ६४ लाख रु पैयाँ ऋण प्रदान गरेको थियो। एडीबीसँग हायात होटेल स्थापना गर्दादेखि नै ३१ लाख तीन हजार चार सय १५ कित्ता अग्राधिकार सेयर रहेको थियो।
ब्यांकले होटेलका प्रमुख लगानीकर्ता अरुण सर्राफ को डोनिमियन इन्भेस्टमेन्ट कम्पनीलाई सेयर बिक्री गरेर बाहिरिएको हो। बुधबार नेप्सेमा भएको कारोबारअनुसार ३१ लाख तीन हजार चार सय १५ कित्ता सेयर सर्राफको हङकङमा रहेको कम्पनी डोनिमियन इन्भेस्टमेन्ट कम्पनीलाई बिक्री गरिएको हो।
प्रतिकित्ता ६७ रुपैयाँ दुई पैसाको दरले २१ करोड ६० लाख रुपैयाँमा सेयर बिक्री गरेर ब्यांक बाहिरिएको हो। जम्मा एक करोड ६७ लाख ४४ हजार सात सय ९० कित्ता नेप्सेमा सूचीकृत भएको तारागाउँ होटेलले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा १८ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो। होटेलले हालसम्म सेयरधनीलाई कुनै लाभांश दिएको छैन। बुधबारको कारोबारसँगै नेप्सेमा हायातको साधारण सेयरको मूल्य पनि बढेको छ। बुधबार ७५ लाख २५ हजार रुपैयाँको कारोबारमा हायातको साधारण सेयरको मूल्य प्रतिकित्ता ३० रुपैयाँको दरले बढेर प्रतिकित्ता तीन सय ३६ रुपैयाँमा पुगेको छ। होटेल समूहमा लगानीकर्तालाई सोल्टी होटेलबाहेक अरूले हालसम्म लाभांश दिएका छैनन्।














प्रतिक्रिया