२८ आश्विन २०८३, बुधबार

असारको शुरुमै भक्तपुरमा ४० प्रतिशत रोपाइँ सकियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktapur-1

भक्तपुर, ८ असार । असारको पहिलो हप्तामै जिल्लामा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

किसानहरूले आधुनिक प्रविधि अपनाउने क्रममा पम्पसेटको माध्यमबाट सिँचाइ गरेकाले जिल्लामा असारको पहिलो सातामै ४० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि कार्यालयका प्रसार अधिकृत नरेशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

शनिबार भक्तपुरको थिमी, दुवाकोट, झौखेल, छालिङ, नगरकोट, बागेश्वरी, ताथली र सुडालको अवलोकन भ्रमणपछि घिमिरेले उत्साहित हुँदै भन्नुभयो, ‘विगतमा साउनमा रोपाइँ हुने स्थानमा समेत रोपाइँ भइरहेको देखियो । ’उहाँले थिमीमा बढ्दो शहरीकरणका कारण खेती कम हुँदै आए पनि भएकामध्ये ७० प्रतिशत रोपाइँ भएको बताउनुभयो ।

साथै, दुवाकोट, झौखेल, छालिङ, नगरकोट, बागेश्वरीमा ५० प्रतिशत र ताथली र सुडालमा भने ३० प्रतिशतको हाराहारीमा रोपाइँ भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको दुई मुख्य मनोहरा र हनुमन्ते खोला किनारको फाँटमा सिचाइँको सहज सुविधा भए तापनि सिटार, दधिकोट, गुण्डु, सिपाडोल, ताथली, सुडाल, नंखेललगायत गाउँमा आकाशेपानीको भरमा रोपाइँ गरिन्छ ।

घिमिरेले यस वर्ष हालसम्म मनसुनले आफ्नो प्रभाव देखाउन नसकेकाले जिल्लाको दक्षिणी भेगमा भने रोपाइँको चटारो नदेखिएको जानकारी दिनुभयो ।

उहाँले सिटार, दधिकोट, बालकोट, गुण्डु, सिपाडोल र नंखेललगायत क्षेत्रमा २० प्रतिशतभन्दा कम रोपाइँ भएको बताउनुभयो ।

गत वर्ष बढी फल्ने लोभमा चाइनिज हाइब्रिड धान रोपेका किसानहरू यस वर्ष भने कृषिको बीउतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।

गत वर्ष चाइनिज हाइब्रिड धान डि वाइ ६९ मा नेक ब्लास्ट रोगका कारण बाला भुसिएपछि उत्पादन शून्य भएको थियो । जिल्लामा नेक ब्लास्ट रोगका कारण ३६० हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको थियो ।

भक्तपुरको ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३५२ हेक्टरमा धानखेती गरिन्छ । भक्तपुरमा वार्षिक २५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

भक्तपुरमा प्रतिहेक्टर छ टन धान उत्पादन हुने गरेको छ, जुन नेपालभरिको तुलनामा दोब्बर भएको कृषि कार्यालयले जानकारी दिएको छ । रासस