काबुल, ७ असार । अफगानिस्तानको दक्षिणी भागमा शुक्रबार तालिवानले गरेको एक आक्रमणमा अमेरिकी तीन सैनिक तथा एक सैनिक कुकुरको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।
अफगानिस्तानमा यस वर्ष नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सहयोगी बलले आफ्नो युद्ध अभियान अन्त्य गर्नेछ र अफगान प्रहरी तथा सेनालाई तालिवान विद्रोहीसँग युद्ध गर्ने जिम्मा पूर्ण रूपमा सुम्पनेछ ।
नेटोको सेनाले एक विज्ञप्ति प्रकाशन गरी आईएसएएफका तीन सदस्य तथा एक कुकुरको अफगानिस्तानको दक्षिणी भागमा एक विस्फोटमा मृत्यु भएको जानकारी दिएको छ ।
अमेरिकी प्रतिरक्षा अधिकरीहरूले मर्ने सैनिक अमेरिकी रहेको स्वीकार गरेका छन् । उक्त आक्रमण हेलमान्ड प्रान्तको नाद अली जिल्लामा भएको बताइएको छ ।
प्रान्तीय प्रशासकका प्रवक्ता ओमार जवाकले उक्त बम मोटरसाइकलमा ल्याइएको र आईएसएएफको गस्ती नजिकै विस्फोट गराइएको जानकारी दिए । तालिवानले आमसञ्चार संस्थालाई पठाएको एक सन्देशमा उक्त आक्रमणको जिम्मवारी लिएको छ । रासस÷एएफपी














प्रतिक्रिया